अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्दैछ।
प्रदेशको लिगबाट छानिएका दश क्लबबीच भएको एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोली र अघिल्लो संस्करणको ए डिभिजन लिगको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा भाग लिने प्रावधान छ।
तर एन्फाले यसपटक नियमअनुसार भाग लिन पाउने दश टोलीबाहेक अरु डिभिजन क्लबलाई पनि राष्ट्रिय लिगमा भाग लिन दिँदैछ। जसका कारण थप सात टोलीले भाग लिँदैछन्। हिमालयन शेर्पा क्लबबाहेक ए डिभिजनका १३ वटा टोलीले राष्ट्रिय लिग खेल्दैछन्।
त्यसअघिका लागि एन्फाले नियमावली सार्वजनिक गरेको छ। जुन नियमावलीमा राष्ट्रिय लिगको च्याम्पियनले आगामी संस्करणको एएफसी क्लब प्रतियोगितामा भाग लिने पाउने उल्लेख गरिएको छ।
एएफसी क्लब प्रतियोगिता खेल्न एएफसी क्लब लाइसेन्स चाहिन्छ। क्लब लाइसेन्सका लागि मैदान, एकेडेमी, युथ टोलीलेखि विभिन्न अफिसियल हुनु पर्छ।
अहिलेसम्म नेपालमा कुनै पनि क्लबलाई एएफसी क्लब लाइसेन्स प्राप्त छैन। पछिल्लो पटक चर्च ब्वाइज क्लबले एएफसीको क्लब प्रतियोगिता खेलेको थियो। तीन वर्षअघि चर्च ब्वाइजले ए डिभिजन लिग जितेपछि अहिलेसम्म अर्को ए डिभिजन लिग भएको छैन। त्यसैले दुई संस्करणमा नेपालले एएफसीको प्रतियोगिता खेल्न पाएन।
यो वर्ष भने एन्फाले राष्ट्रिय लिग विजेतलाई एएफसी क्लब प्रतियोगिता खेल्ने अवसर दिन लागेको हो।
राष्ट्रिय लिगको नियमावलीमा भनिएको छ, ‘राष्ट्रिय लिग २०८२ को च्याम्पियनले एएफसी क्लब प्रतियोगितामा प्रतिनिधित्व गर्नेछयस। प्रतियोगिताको लागि राष्ट्रिय क्लब लाइसेन्सिङ मापदण्ड पूरा नगर्ने क्लबहरू राष्ट्रिय लिगमा भाग लिन योग्य रहनेछन्। तथापि, यस्ता क्लबहरूले एएफसी क्लब लाइसेन्सिङ प्रक्रियामा आवेदन दिन वा भाग लिन योग्य हुनेछैनन्। यदि योग्यता प्राप्त गर्ने टोलीले तोकिएको समयसीमा र आवश्यकताहरू पूरा गर्न असफल भएमा, एएनएफएले मापदण्ड पूरा गर्ने अर्को उच्च वरीयताको टोलीलाई मनोनयन गर्नेछ।’