अखिल नेपाल फुटवल संघ (एन्फा) को कार्यसमिति बैठकले कार्यसमितिको निर्वाचन माघ २८ गते झापामा गर्ने निर्णय गरेको छ।
अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा बसेको कार्यसमिति बैठकले कार्यकाल सकिनु चार महिनाअघि नै निर्वाचन गर्ने निर्णय गरेको हो।
‘एन्फाको नियमित साधारण सभा यहि मिति २०८२ माघ २८ गते झापामा सम्पन्न गर्ने र संघको विधानको धारा ३१ को 'त'को निर्वाचनको व्यवस्था बमोजिम साधारण सभाको एजेण्डामा समावेश गरि एन्फा कार्यसमितिको अग्रिम निर्वाचन समेत गर्ने निर्णय पारित गरियो,’ एन्फा प्रवक्ता सुरेश शाहको भनाइ छ।
कार्यसमिति बैठकमा अध्यक्ष पंकजबिक्रम नेम्बाङले नयाँ नेतृत्वका लागि माघ अन्तिम साता निर्वाचन गर्ने प्रस्ताव गरेका थिए। यहि प्रस्तावलाई कार्यसमितिले पारित गरेको हो।
यो कार्यसमितिको कार्यकाल आगामी असार ६ गतेसम्म छ। एन्फा विधानमा कार्यसमितिको कार्यकाल चार वर्ष हुने व्यवस्था छ।
विधानमा कार्यकालअघि नै निर्वाचन गर्न सकिने विषयमा केही उल्लेख गरिएको छैन।
यद्यपी एएफसीको सहमतिमा विशेष परिस्थितिमा ६ महिना कार्यकाल भने थप्ने परम्परा छ।
यो कार्यसमितिको कार्यकाल समाप्त हुने मितिमा फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ हुँदैछ। यहि कारण देखाउँदै एन्फा अध्यक्ष नेम्बाङले कार्यकाल सकिनुअघि नै निर्वाचनको प्रस्ताव गरेका हुन्।
नयाँ निर्वाचन हुँदा जिल्ला र प्रदेशको कार्यकाल भने सकिएको हुँदैन। कतिपय जिल्लामा नयाँ नेतृत्व आउने भएकाले भोटिङ ‘प्याट्रन’ मा समेत असर गर्ने देखिएपछि एन्फाले अहिले नै निर्वाचन गर्न लागेको भन्दै आलोचना भएको छ।
कार्यसमिति बैठकमा निर्वाचन (साधारण सभा) बाहेक आर्थिक वर्ष २०८२/८३ को लेखा परिक्षणका लागि लेखा परिक्षक नियुक्त गरेको छ।
आठ वटा संघको लेखापरिक्षण तथा अनुपालक समितिको सिफारिस बमोजिम सुवोध एसोसिएट्सलाई नियुक्ति गर्ने निर्णय भएको छ।