इन्जुरी समयमा गोल गरेपछि चेल्सीले सिटीविरूद्ध सम्भावित हार टारेको छ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा अन्तिम समयम चेल्सीका इन्जो फर्नान्डिजले गोल गरेपछि सिटी घरेलु मैदानमै रोकिएको हो।
पहिलो हाफको ४२ औं मिनेटमा तिजानी रेइन्डर्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
तर निर्धारित ९० मिनेटपछि ९ मिनेट थपिएको खेलको चौथो मिनेटमा इन्जोले बराबरी गोल फर्काएका थिए।
खेल बराबरीमा सकिएपछि अंक तालिकाको दोस्रो स्थानमा रहेको सिटीलाई धक्का पुगेको छ।
सिटीले २० खेलबाट ४२ अंक जोडेको छ। शीर्ष स्थानमा रहेको आर्सनलले समान खेलबाट ४८ अंक बनाएको छ।
पाँचौं स्थानको चेल्सीले ३४ अंक जोडेको छ।
गएराति नै भएको खेलमा लिभरपुलले फुलहमसँग २-२ गोलको बराबरी खेल्यो।
ब्रेन्टफोर्डले इभरटनलाई ४-२ गोलले तथा न्यूकासलले क्रिष्टल प्यालेसलाई २-० गोलअन्तरले पराजित गरेको थियो।
लिड्स युनाइटेड र म्यानचेस्टर युनाइटेड तथा टोटनहम र सन्डरल्याण्डले १-१ गोलको बराबरी खेलेको थियो।