अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघ २८ का लागि नयाँ कार्यसमितिको निर्वाचन तय गरेको छ। निर्वाचनका लागि प्रक्रिया अघि बढाइरहेको एन्फाले विपक्षीको भने चर्को दबाब र अलोचना खेपिरहेको छ।
एन्फाको विधान उल्लेख नै नभएको ‘अर्ली इलेक्सन’ गर्नु गैरकानुनी हुने विपक्षीहरूले बताएका छन्। हुन पनि एन्फाको विधानमा कतै पनि कार्यकाल सकिनुअघि निर्वाचन गर्ने उल्लेख गरिएको छ।
पंकजबिक्रम नेम्बाङ अध्यक्ष रहेको हालको कार्यसमितिको पदावधि असार ६ गते सकिँदैछ। त्यसअघि ‘फ्रेस म्यान्डेट’ लिने भन्दै एन्फा निर्वाचनतर्फ अघि बढिरहेको हो। तर ‘फ्रेस म्यान्डेट’ लिने भए एन्फाले केन्द्रीय समितिको मात्र होइन जिल्लादेखि नै निर्वाचन गर्नु पर्ने आवाज उठिहरेको छ।
एन्फाको निर्वाचनको विरोध गर्नेमा कार्यसमितिका उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार) सँगै केन्द्रीय सदस्य रुपेश अधिकारी छन्। विरोध गर्नेमा पूर्वअध्यक्षद्वय कर्माछिरिङ शेर्पा र गणेश थापा पनि छन्। पछिल्ला वर्षमा लगातार एन्फाविरूद्धमा बोलेका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का त निलम्बन नै परेका थिए।
अर्कोतर्फ राष्ट्रिय खेलकुद परिषदमा एन्फा निर्वाचनको विरोधमा उजुरी परेको छ। त्यसमा उपाध्यक्ष शाही र रुपेश अधिकारी तथा पूर्वअध्यक्ष थापाले छुट्टा छुट्टै निवेदन दिएका छन्।
परिषदका सदस्यसचिव राम चरित्र मेहताले दुवै पक्षको कुरा सुनेर अघि बढ्ने बताइरहेका छन्। एन्फाले परिषदबाट स्वीकृति लिएर निर्वाचन गर्ने बताए पनि अहिलेसम्म अनुमति भने लिएको छैन। यो विषयमा पनि विरोध भइरहेको छ।
लगातार विरोध भए पनि एन्फा रोकिने मनस्थितिमा छैन। उसले निर्वाचनको कार्य तालिका समेत सार्वजनिक गरेको छ। आइतबार एन्फाले आफू आबद्ध ४९ जिल्ला फुटबल संघसहित ए, बी र सी डिभिजन क्लबहरू, सातै वटा प्रदेश फुटबल संघ, खेलाडी संघ, रेफ्री संघ, महिला संघ र प्रशिक्षक संघ, प्रेसिडेन्ट लिगका शीर्ष चार क्लबलाई निर्वाचनमा भोट हाल्ने प्रतिनिधि र साधारणसभामा भाग लिने प्रतिनिधिको नाम पठाउन पत्राचार गरेको छ।
सबै संघले पुस २८ गतेभित्र साधारणसभाका लागि मताधिकार प्राप्त प्रतिनिधिको नाम पठाउनु पर्ने एन्फाको भनाइ छ।
निर्वाचनमा भाग लिने उम्मेदवारहरूले मनोनयन फाराम आजदेखि एन्फा सचिवालय मार्फत् प्राप्त गर्न सक्ने एन्फाको भनाइ छ। उम्मेदवारी दर्ता फारम माघ ३ गते भित्र बुझाउनु पर्नेछ।