नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) लाई गम्भीर चोट लागेको छ।
अस्ट्रेलियाको 'निन्जा ए-लिग' खेलिरहेकी साम्बा घुँडाको गम्भीर चोटका कारण यो सिजनका बाँकी खेलहरू खेल्न नसक्ने भएकी छिन्।
लिगमा सहभागी एक मात्र न्युजिल्यान्डको क्लब वेलिङटन फोनिक्समा साम्बा आबद्ध छिन्। यसै सिजन आबद्ध भएकी उनले तीन गोल गरेकी छन्।
गत शनिबार ब्रिस्बेन रोअर विरुद्धको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग साम्बा ठोकिएकी थिइन्।
एमआरआई रिपोर्ट अनुसार उनको दाहिने घुँडाको 'एसिएल' पूर्ण रूपमा च्यातिएको छ।
यो चोट निकै गम्भीर मानिन्छ। चोट निको हुन र पुन: मैदानमा फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्नेछ।
यसको अर्थ उनले यो वर्षको लिगका सबै खेलहरू गुमाउनेछिन्। वेलिङटन फोनिक्स क्लबका लागि यो सिजनको तेस्रो ठूलो झट्का हो, किनभने यसअघि नै उनका अन्य दुई खेलाडी पनि यस्तै चोटका कारण बाहिरिसकेका छन्।
टोलीकी मुख्य प्रशिक्षक बेभ प्रिस्टम्यानले यो खबरले आफू र पूरै टोली निकै दुःखी भएको बताएकी छिन्।
उनले भनिन्— 'साम्बा हाम्रो टोलीको सबैभन्दा लोकप्रिय र प्यारी खेलाडी हुन्। उनको चोटले हामीलाई निकै पीडा दिएको छ। तर साम्बाको आँखामा मैले अझै पनि खेल्ने भोक देखेकी छु। उनी जतिसक्दो चाँडो मैदान फर्कन चाहन्छिन्।'
साम्बासँग क्लबको दुई वर्षको सम्झौता छ, त्यसैले उनी निको भएपछि फेरि यही क्लबबाट खेल्नेछिन्। अहिलेका लागि भने क्लबले उनको ठाउँमा खेल्ने अर्को नयाँ फरवार्ड खेलाडी खोजिरहेको छ। यद्यपि, खेलाडी दर्ता गर्ने समय सकिसकेकाले क्लबले अहिले कुनै पनि टिममा आबद्ध नभएका (फ्रि एजेन्ट) खेलाडी मात्र राख्न पाउनेछ।