कुवेतमा भएको खेलमा मार्सेलीलाई पेनाल्टी सुटआउटमा हराउँदै पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले लगातार चौथो पटक 'फ्रेन्च सुपर कप' को उपाधि जितेको छ।
खेलको अन्तिम समयमा बराबरी गोल फर्काएपछि मात्र पिएसजीले पेनाल्टीसम्म पुग्ने मौका पाएको थियो।
लिग वान र कप डी फ्रान्स दुवैको विजेता पिएसजी र लिग उपविजेता मार्सेलीबीच यो प्रतिस्पर्धा भएको थियो। खेलको सुरुवातमै ओस्मान डेम्बेलेले गोल गरेपछि पिएसजी सजिलै जिततर्फ अघि बढेको देखिएको थियो।
तर, खेलको अन्तिम समयतिर मार्सेलीले नाटकीय रूपमा दुई गोल गर्दै अग्रता लियो। मार्सेलीका लागि मेसन ग्रीनवुडले पेनाल्टीमार्फत गोल गरे भने पिएसजीका विलियन पाछोले आत्मघाती गोल (आफ्नै पोस्टमा गोल) गर्न पुगे।
हारको नजिक पुगेको पिएसजीका लागि गोन्कालो रामोसले खेलको अन्तिम सेकेन्डमा बराबरी गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो। पेनाल्टीमा पिएसजीका गोलकिपर लुकास शेभालियरले मार्सेलीका म्याट ओ'रिले र हामेद ट्राओरेको प्रहारलाई रोकेर टिमलाई बचाए।
पिएसजीका लागि रामोस, भिटिन्हा, नुनो मेन्डेस र डेजिरे डोउए चारै जनाले पेनाल्टीमा गोल गरे र टोली ४-१ ले विजयी भयो।
यो जीतसँगै कीर्तिमानी १४ पटकको विजेता पिएसजीले पछिल्लो १३ वर्षमा १२ औं पटक यो उपाधि आफ्नो पोल्टामा पारेको छ।