इङ्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुलसँग गोलरहित बराबरीमा रोकिएपछि आर्सनलले अंक तालिकाको शीर्ष स्थानमा ८ अंकको स्पष्ट अग्रता बनाउने सुनौलो मौका गुमाएको छ।
खेलको अन्तिम समयमा लिभपुरका खेलाडी घाइते भए, जसले गर्दा खेल खल्लो बन्न पुग्यो। लिभरपुलका डिफेन्डर कोनर ब्राड्ली घुँडाको चोटका कारण मैदानको छेउमा लडिरहेका बेला आर्सनलका वैकल्पिक खेलाडी ग्याब्रियल मार्टिनेलीले उनलाई जबरजस्ती मैदानबाहिर धकेल्न खोजेका थिए। यसले लिभरपुलका खेलाडीहरूलाई आक्रोशित बनायो। मार्टिनेलीले पहेँलो कार्ड पाए भने ब्राड्लीलाई स्ट्रिचरमा राखेर मैदानबाहिर लगियो।
गएको बुधबार म्यान्चेस्टर सिटी र एस्टन भिल्ला दुवैले बराबरी खेलेका कारण आर्सनलका लागि यो खेल जित्नु निकै महत्वपूर्ण थियो। तर लगातार पाँच खेल जितेर आएको आर्सनलले यस पटक भने जित निकाल्न सकेन।
अर्कोतर्फ साविक विजेता लिभरपुल यो खेलअघि लगातार ९ खेलसम्म अपराजित थियो। मुख्य स्ट्राइकर ह्युगो एकिटिके अनुपस्थित भएका कारण प्रशिक्षक आर्न स्लटले वास्तविक स्ट्राइकर बिनाको टोली मैदानमा उतार्नु परेको थियो।
खेलको पहिलो ४५ मिनेटमा आर्सनलले दबाब बनाए पनि गोल गर्ने सबैभन्दा राम्रो मौका भने लिभरपुलले पाएको थियो। आर्सनलका गोलकिपर डेभिड राया र डिफेन्डर विलियम सालिबाबीच तालमेल नमिल्दा कोनर ब्राड्लीले प्रहार गरेको बल 'क्रसबार' (गोलपोस्टको माथिल्लो डण्डी) मा लागेर फर्किएको थियो। आर्सेनलले विपक्षीको पेनाल्टी क्षेत्रमा धेरै पटक बल पुर्याए पनि त्यसलाई गोलमा बदल्न कोही सफल भएनन्।
दोस्रो हाफमा लिभरपुलले सुधारिएको प्रदर्शन गर्दै आर्सेनललाई दबाबमा राख्यो, तर दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमै टुङ्गियो।
यो नतिजापछि पनि आर्सनल ६ अंकको अग्रताका साथ तालिकाको पहिलो स्थानमै सुरक्षित छ भने लिभरपुल चौथो स्थानमा यथावत छ।