इंग्लिस क्लब म्यानचेस्टर सिटील बर्नमाउथबाट घानाका अन्तर्राष्ट्रिय खेलाडी एन्टोइन सेमेन्योलाई करिब ६ करोड ५० लाख पाउण्ड (करिब १० अर्ब ८० करोड नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको छ।
सिटीले सेमेन्योको 'रिलिज क्लज' (सम्झौता फुकुवा रकम) तिरेपछि यो बर्नमाउथका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो मूल्यको बिक्री बनेको छ। यो सम्झौता शनिबारअघि नै भइसक्नुपर्ने सर्त थियो। सिटीले ६ करोड २५ लाख पाउण्ड आगामी २४ महिनाको किस्तामा बुझाउनेछ र बाँकी रकम बोनसका रूपमा दिइनेछ।
२६ वर्षीय सेमेन्योले सन् २०३१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका छन्। उनले सिटीमा ४२ नम्बरको जर्सी लगाउनेछन्। यो जर्सी यसअघि क्लबका दिग्गज खेलाडी याया टुरेले लगाउने गर्थे, जसले क्लबमा रहँदा तीन पटक प्रिमियर लिग जितेका थिए।
सम्झौतापछि सेमेन्योले भने, 'म्यानचेस्टर सिटीमा आबद्ध हुन पाउँदा म निकै गर्व महसुस गरिरहेको छु। यो उच्च स्तरको क्लब हो जहाँ विश्वस्तरीय खेलाडी, उत्कृष्ट सुविधाहरू र पेप गार्डिओला जस्ता महान् प्रशिक्षक हुनुहुन्छ। मेरो करियरको यो चरणमा सिक्न र सुधार गर्नका लागि यो क्लब मेरा लागि उपयुक्त ठाउँ हो। मेरो उत्कृष्ट खेल प्रदर्शन आउन अझै बाँकी छ।'
लण्डनमा जन्मिएका यी विङ्गरले बुधबार टोटनह्यामविरुद्धको खेलमा अतिरिक्त समयमा निर्णायक गोल गर्दै बर्नमाउथलाई ३-२ को जित दिलाएर क्लबबाट बिदा भएका हुन्।