साउदी अरबको जेद्दामा भएको रोमान्चक फाइनलमा रियल मड्रिडलाई -२-३ गोलले हराउँदै बार्सिलोनाले लगातार दोस्रो पटक स्पेनिस सुपर कपको उपाधि जितेको छ।
पाँच गोल भएको यो रोमाञ्चक खेलमा जित निकाल्दै हन्सी फ्लिकको टोलीले १६ औं पटक यो प्रतियोगिताको उपाधि आफ्नो नाममा गरेको हो। गत वर्षको फाइनलमा पनि बार्सिलोनाले नै रियल मड्रिडलाई हराएको थियो।
पहिलो हाफको तनावपूर्ण अन्त्यपछि खेलको ७३ औं मिनेटमा ब्राजिलियन फरवार्ड राफिन्हाले गरेको प्रहार नै निर्णायक गोल सावित भयो।
त्यसअघि, खेलको ३६ औं मिनेटमा राफिन्हाले नै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको थप गरिएको समयमा निकै छिटो तीन गोल भएपछि मध्यान्तरसम्म दुवै टोली बराबरीको स्थितिमा पुगेका थिए।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा भिनिसियस जुनियरले रियलका लागि बराबरी गोल गरे। उनले जुल्स कुन्डेलाई छलाउँदै सुन्दर गोल गरेका थिए। ४ अक्टोबर २०२५ पछि १७ खेलमा रियलका लागि यो उनको पहिलो गोल थियो। लगत्तै ४९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए।
तर त्यसको तीन मिनेटपछि नै गोन्जालो गार्सियाले गोल गर्दै खेल फेरि बराबरीमा ल्याए। डीन हुसेनको हेडर पोस्टमा लागेर फर्किएपछि बक्सभित्र भएको घम्साघम्सीको फाइदा उठाउँदै उनले गोल गरेका थिए। सो समयमा बार्सिलोनाका प्रशिक्षक फ्लिकले पहिलो हाफको सिट्टी ढिलो बजेको भन्दै विरोध गरेका थिए।
खेलको अन्तिम समयमा केलियन एमबाप्पेमाथि खराब ट्याकल गरेपछि फ्रेन्की डी जोङले रातो कार्ड पाउँदै मैदान छाड्नुपर्यो। घुँडाको चोटबाट निको भएर एमबाप्पे वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए।
खेलको अन्त्यतिर दुवै टोलीले गोलका केही अवसरहरू गुमाउँदा खेल निकै तनावपूर्ण बनेको थियो। मार्कस रासफोर्डको प्रहार पोस्टभन्दा बाहिर गयो भने अल्भारो करेरास र राउल एसेन्सियोका प्रहारलाई बार्सिलोनाका गोलकिपर जोआन गार्सियाले बचाए।
अन्ततः बार्सिलोनाले खेल जित्दै सन् २०११ पछि पहिलो पटक लगातार दुई वर्ष यो उपाधि जितेर कीर्तिमान कायम गर्यो।