बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा वुल्फ्सबर्गलाई ८-१ को फराकिलो अन्तरले पराजित गर्दै बायर्न म्युनिखले लिगको शीर्ष स्थानमा ११ अंकको स्पष्ट अग्रता बनाएको छ।
इंग्ल्याण्डका कप्तान तथा स्ट्राइकर ह्यारी केनले यस सिजनको १६ खेलमा २० गोल पूरा गर्ने क्रममा एक उत्कृष्ट गोल गरे।
उनले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बल सिधै गोलपोस्टको माथिल्लो कुनामा छिरेपछि टोली ६-१ को स्थितिमा पुगेको थियो।
खेलको पाँचौँ मिनेटमा वुल्फ्सबर्गका किलियन फिसरले आत्मघाती गोल गरेपछि बुन्डेसलिगामा एउटा अनौठो कीर्तिमान कायम भयो। वुल्फ्सबर्ग लगातार तीन खेलमा आत्मघाती गोल गर्ने पहिलो टोली बनेको छ। लुइस डियाजको पासलाई रोक्ने क्रममा फिसरले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।
सुरुमा जेनान पेइसिनोभिकले गोल गर्दै वुल्फ्सबर्गलाई बराबरीमा ल्याए पनि त्यसपछि बायर्नले खेलमा पूर्ण नियन्त्रण जमायो। लुइस डियाजले माइकल ओलिसेको क्रसमा हेडरमार्फत गोल गर्दै बायर्नलाई फेरि अग्रता दिलाए। बायर्नका लागि आफ्नो ५० औं बुन्डेसलिगा खेल खेलिरहेका ओलिसेले दोस्रो हाफमा दुई गोल थपे।
त्यसअघि वुल्फ्सबर्गका मोरिट्ज जेन्जले अर्को आत्मघाती गोल गरेका थिए भने राफायल गुरेरो र ह्यारी केनले पनि गोल थपिसकेका थिए। खेलको ८८ औं मिनेटमा लियोन गोरेट्काले आठौँ गोल गर्दै बायर्नको फराकिलो जित पक्का गरे।
विन्टर ब्रेकपछि सुरु भएको लिगमा प्रशिक्षक भिन्सेन्ट कोम्पनीको टोलीले सानदार सुरुवात गरेको छ। दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डले शुक्रबार राति फ्रान्कफर्टसँग ३-३ को बराबरी खेलेका कारण बायर्नलाई अंक तालिकामा थप फाइदा पुगेको हो।