म्यानचेस्टर युनाइटेडमा परिस्थिति निकै छिटो बदलिन्छ। ११ हप्ताअघि जब ब्राइटन युनाइटेडको घरेलु मैदान वल्ड ट्राफोर्ड आएको थियो, रुबेन एमोरिमको नेतृत्वमा टोलीले लगातार तीन जित निकाल्दै लय समातेको संकेत दिएको थियो। तर आज समय बदलिएको छ।
आइतबार एफए कपको तेस्रो चरणमा ब्राइटनसँग हार बेहोर्दा वल्ड ट्राफोर्डको आकाश कालो बादल र वर्षाले ढाकेको थियो, जुन युनाइटेडको वर्तमान अवस्थाको एउटा प्रतीक जस्तै देखिन्थ्यो।
प्रशिक्षक एमोरिमले क्लब छाडिसकेका छन्। सन् १९८१-८२ पछि पहिलो पटक युनाइटेड दुवै घरेलु कप प्रतियोगिताको सुरुआती चरणबाटै बाहिरिएको छ। यस सिजन उनीहरूले कुल ४० खेल मात्र खेल्नेछन्, जुन सन् १९१४-१५ पछिको सबैभन्दा कम संख्या हो।
एफए कपबाट चाँडै बाहिरिएका कारण फेब्रुअरी र मार्च महिनामा युनाइटेडको खेल तालिका खाली हुनेछ। यो समयमा क्लबले आर्थिक खाडल पुर्नका लागि साउदी अरबको भ्रमण गर्ने सम्भावना बढेको छ।
अर्को शनिबार युनाइटेडले म्यानचेस्टर सिटीको सामना गर्दैछ, तर टोलीको ‘कमजोर’ मनोबल सुधार्न हाल कुनै स्थायी प्रशिक्षक छैन।
पछिल्ला सात खेलमध्ये युनाइटेडले डिसेम्बर २६ मा न्युकासलविरुद्ध मात्र एक जित निकालेको छ। ब्राइटनसँगको अघिल्लो भेटपछि खेलिएका १३ खेलमध्ये टोलीले मात्र तीन खेल जितेको छ।
अहिले प्रिमियर लिगमा सातौं स्थानमा रहनु ठूलो संकट नभए पनि, यदि आगामी खेलहरूमा म्यानचेस्टर सिटी र आर्सनलसँग पराजित भएमा टोली तालिकाको तल्लो आधा भागमा पुग्न सक्छ।
यस्तो अवस्थामा आगामी फेब्रुअरी १ मा फुलह्यामविरुद्धको खेलका दौरान समर्थकहरूले क्लबको स्वामित्वविरुद्ध ठूलो विरोध प्रदर्शन गर्ने योजना बनाएका छन्।
इतिहास हेर्ने हो भने, यस सिजनको अन्त्यसम्ममा युनाइटेडले प्रिमियर लिग नजितेको १३ वर्ष पुग्नेछ। सर म्याट बस्बी र सर एलेक्स फर्गुसनको पालामा पनि क्लबले उपाधिका लागि लामो समय कुर्नुपरेको थियो, तर अहिलेको टोली सही बाटोमा छ भन्ने कुनै आधार देखिँदैन।