म्यानचेस्टर युनाइटेडले आफ्ना पूर्व खेलाडी माइकल क्यारिकलाई यस सिजनको अन्त्यसम्मका लागि 'केयरटेकर' (अन्तरिम) मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
क्यारिकको टोलीमा इंग्ल्याण्डका पूर्व सहायक प्रशिक्षक स्टिभ हल्याण्ड रहनेछन्। साथै जोनाथन उडगेट, जोनी इभान्स र ट्राभिस बिनियनले पनि प्रशिक्षण टोलीमा उनलाई साथ दिनेछन्।
४४ वर्षीय क्यारिकले यसअघि सन् २०२१ मा ओले गनर सोल्सायरलाई बर्खास्त गरिएपछि तीन खेलका लागि युनाइटेडको अस्थायी प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। उनले शनिबार म्यानचेस्टर सिटी विरुद्ध हुने डर्बी खेलबाट टोलीको नेतृत्व सम्हाल्नेछन्।
क्लबले १४ महिनाको कार्यकालपछि गत जनवरी ५ मा रुबेन अमोरिमलाई बर्खास्त गरेको थियो। त्यसयता ड्यारेन फ्लेचरले दुई खेलमा टोलीको हेरचाह गरेका थिए।
क्यारिकले 'थ्री-एट-द-ब्याक' (तीन डिफेन्डर) को रणनीतिलाई परिवर्तन गरी ४-२-३-१ को फर्मेसनमा टोलीलाई उतार्ने तयारी गरेका छन्।
यो पदका लागि क्लबले पूर्व प्रशिक्षक ओले गनर सोल्सायरसँग पनि कुरा गरेको थियो, तर क्यारिकको प्रशिक्षण शैली बढी सक्रिय भएकाले उनलाई रोजिएको बताइएको छ।
यसअघि अस्थायी रूपमा टोली हेरिरहेका ड्यारेन फ्लेचर भने पुन: १८ वर्ष मुनिको टोलीको प्रशिक्षणमा फर्किनेछन्। क्लबले उनको भविष्यको विकासका लागि यो कदम उत्तम हुने निर्णय गरेको हो।