राष्ट्रिय लिग २०८२ अन्तर्गत पहिलो दिनको दोस्रो खेलमा चर्च ब्वाइज क्लब र श्री भगवती क्लबले एक एक गोलको बराबरी खेलेर अंक बाँडेका छन्।
तीन वर्षअघि भएको ए डिभिजन क्लबको विजेता चर्च ब्वाइजले ५६ मिनेटमा एरिक विष्टले फर्काएको गोलबाट हार टार्यो।
पहिलो पटक ए डिभिजनमा बढुवा भएको श्री भगवतीले ४५ मिनेटमा हरिहर बुढा मगरको गोलबाट अग्रता लिएको थियो।
यसअघि बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उदघाटन खेलमा फ्रेण्ड्स क्लबले एन्फा प्रेसिडेन्ट लिगबाट आएको सुर्खेतको काँक्रेविहार क्लबलाई ३-१ गोलले पराजित गर्यो।
खेलको छैटौं मिनेटमा काँक्रेबिहारले आत्मघाती गोलबाट अग्रता लियो। फ्रेण्ड्सका कमल श्रेष्ठले आत्मघाती गोल गर्न पुगेका थिए।
पहिलो हाफको इन्जुरी समयमा फ्रेण्ड्सका प्रशान्त लक्समले बराबरी गोल गरे।
५९ मिनेटमा प्रवेश बस्नेतले फ्रेण्ड्सलाई अग्रता दिलाउँदा ९० मिनेटमा आशिश चपागाइँले तेस्रो गोल गरे।
२०७९ को सहिद स्मारक ए डिभिजन लिग सकिएको तीन वर्षपछि शीर्ष डिभिजनका क्लबहरू घरेलु लिगमा फर्किएका हुन्।
लिगमा देशभरका विभिन्न १७ वटा क्लबहरूले सहभागी छन्। जसमा हिमालयन शेर्पाबाहेक १३ ए डिभिजन क्लब र एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोलीबीच प्रतिस्पर्धा हुनेछ।
जसमा काँक्रेविहार, लालिगुराँस, चित्लाङ र नव जन जागृति एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोली हुन्। राष्ट्रिय लिगमा अघिल्लो संस्करणको ए डिभिजन लिगको शीर्ष ६ टोली र प्रेसिडेन्ट लिगका ४ टोली गरी कुल १० टोली सहभागी हुने व्यवस्था छ।
तर २०७९ पछि विभिन्न बहानामा ए डिभिजन लिग नगरेपछि एन्फाको चर्को आलोचना भएको थियो। जसका कारण एन्फाले राष्ट्रिय लिगमा सहभागी हुन चाहेन सबै क्लबलाई खुला गरेको थियो।
विना प्रचार र रेलिगेशन बिनाको हुने यस लिगको रौनक भने खासै छैन। यो लिगमा फुटबलप्रेमीमा उत्साह समेत जागेको छैन।
सहभागी क्लबमा १. एपीएफ एफसी २. काँक्रेविहार वाईसी ३. श्री भगवती क्लब ४. सातदोबाटो युथ क्लब ५. लालिगुराँस एशोसिएसन ६. मछिन्द्र एफसी ७. चित्लाङ एफसी ८. त्रिभुवन आर्मी एफसी ९. प्लानिङ ब्वाइज युनाइटेड १०. नेपाल पुलिस क्लब ११. मनाङ मर्स्याङ्दी क्लब १२. नवा जन जागृति क्लब १३. न्यू रोड टिम १४. जावलाखेल युथ क्लब १५. संकटा एफसी १६. चर्च ब्वाइज युनाइटेड १७. फ्रेन्ड्स क्लब रहेका छन्।
लिगका खेलहरू मुख्यतया तीनवटा स्थानमा सञ्चालन गरिनेछन्। एन्फा कम्प्लेक्स, सातदोबाटोसहित च्यासल रंगशाला र दशरथ रंगशाला, त्रिपुरेश्वरमा खेल हुनेछन्।
लिगको बीचमा विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरूका कारण खेलहरू स्थगित हुनेछन्। माघ २३ देखि फागुन ९ गतेसम्म एन्फा निर्वाचन, मोफसलका प्रतियोगिताहरू र राष्ट्रिय खेलकुदका लागि विश्राम दिइएको छ।
राष्ट्रिय निर्वाचनका दौरान फागुन १६ देखि २३ गतेसम्म राष्ट्रिय निर्वाचनका कारण खेलहरू हुने छैनन्। मैत्रीपूर्ण खेल: माघ १६ र १७ गते नेपाल र चीनको टोलीबीच मैत्रीपूर्ण खेलको समय छुट्याइएको छ। एन्फाले आवश्यकता अनुसार खेल तालिका फेरबदल गर्न सक्ने अधिकार सुरक्षित राखेको छ।बिहानका खेलहरू ११:०० बजे र दिउँसोका खेलहरू ३:०० बजे सुरु हुनेछन्।