साविक विजेता बार्सिलोनाले रेसिङ सान्टान्डरविरुद्धको खेल जित्दै कोपा डेल रेको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई दोस्रो डिभिजनको टोली सान्टान्डरविरुद्ध जित निकाल्न निकै संघर्ष गर्न परेको थियो।
खेलभरि बल आफ्नो नियन्त्रणमा राखे पनि बार्सिलोनाले गोलका लागि दोस्रो हाफसम्म कुर्नुपर्यो। मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी फर्मीन लोपेजले मिलाइदिएको उत्कृष्ट पासमा कप्तान फेरान टोरेसले गोलकिपरलाई छक्याउँदै टोलीलाई अग्रता दिलाए।
खेलको इन्जुरी टाइममा राफिन्हाको क्रसलाई सदुपयोग गर्दै युवा स्टार लामिन यामलले दोस्रो गोल गरे र बार्सिलोनाको २-० को जित सुनिश्चित गरे।
अहिले दोस्रो डिभिजनको शीर्ष स्थानमा रहेको सान्टान्डर सन् २०१२ पछि पहिलो पटक ला लिगामा बढुवा हुने लक्ष्यमा छ।
यसअघि बुधबार राति भएको खेलमा रियल मड्रिड भने दोस्रो डिभिजनको टोली अल्बासेटेसँग स्तब्ध हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। जाबी अलोन्सोको ठाउँमा नयाँ प्रशिक्षक बनेका अल्भारो अर्बेलोआको नेतृत्वमा रियलको यो पहिलो खेल थियो, जुन सुखद हुन सकेन।
गत सिजन चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराएर उपाधि जितेको बार्सिलोनाले अब क्वार्टरफाइनलमा कोसँग खेल्नेछ भन्ने कुराको टुङ्गो सोमबार लाग्नेछ।