अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्त केन्द्रीय समितिको निर्वाचनअघि दुई प्रदेशसहित बी डिभिजन र सी डिभिजन क्लबको मताधिकार छनोट स्थगित गरेको छ।
बी र सी डिभिजन क्लबमा आबद्ध १४-१४ क्लबलाई पत्राचार गर्दै एन्फाले मताधिकार प्राप्त छनोटको कार्यक्रम स्थगित गरेको जनाएको हो। यस्तै कोशी र गण्डकी प्रदेशलाई मताधिकार छनोट स्थगित गरेको व्यहोरा लेख्दै पत्र पठाएको छ।
एन्फाले बी र सी डिभिजनको मताधिकार बुधबार र प्रदेशको मताधिकार बिहीबार गर्ने जनाएको छ।
एन्फाको निर्वाचनका लागि बी डिभिजनबाट ११ क्लब, सी डिभिजनबाट ९ क्लब, कोशीबाट ११ जिल्ला मध्ये १० जिल्ला र गण्डकीबाट ८ मध्ये ६ जिल्लाले मताधिकार प्राप्त गर्ने व्यवस्था छ।
अब एन्फाले अर्को मिति तय गर्ने जनाएको छ।
एन्फाको निर्वाचन विवादित बनिरहदा राष्ट्रिय खेलकुद परिषदले विधान संशोधन गरेर मात्र निर्वाचन गर्न भनेको थियो। यस्तै उच्च अदालत पाटनमा दुई मुद्दा गर्दा दुवैमा अन्तरिम आदेश दिइएको थियो।
तर अदालतको आदेश विपरित एन्फाको निर्वाचन प्रक्रिया अघि बढिरहेको छ। निर्वाचनका लागि हालका अध्यक्ष पंकजब्रिकम नेम्बाङ र दीर्घबहादुर केसीको नेतृत्वमा प्यानल बनाएर उम्मेदवारी परेको छ।
जिल्लादेखि निर्वाचन नगरी चार महिनाअघि नै सिधै केन्द्रीय समितिको निर्वाचन गर्न लागेको एन्फाविरूद्धको रिटमा मंगलबार छलफलका लागि बोलाइएको थियो। जसमा अन्तरिम आदेशलाई निरन्तरता दिइएको छ।