युइएफए युरोपा लिग अन्तर्गत ब्रागा विरुद्धको खेलमा नटिङ्घम फरेस्टले निराशाजनक हार बेहोरेको छ। यस खेलमा फरेस्टले एउटा 'अशुभ संयोग' पूरा गर्यो— आत्मघाती गोल, पेनाल्टी मिस र रातो कार्ड।
युरोपा लिगको शीर्ष आठमा परेर अन्तिम १६ मा सिधै छनोट हुने लक्ष्यका साथ मैदान उत्रिएको नटिङघमका लागि अब त्यो बाटो लगभग बन्द भएको छ। अब लिग चरणको अन्तिम खेलमा फेरेन्कभारोसलाई हराए पनि उनीहरूले अन्तिम १६ मा पुग्नका लागि दुई लेगको 'प्ले-अफ' खेल्नुपर्ने सम्भावना बढी छ।
टोलीको प्रदर्शन यति फितलो थियो कि खेल हेर्न पुगेका फरेस्टका समर्थकहरूले हाफ-टाइम र खेल सकिएपछि आफ्नै टोलीलाई गिज्याउँदै (हुटिङ गर्दै) असन्तुष्टि जनाएका थिए।
खेलको ५३औं मिनेटमा मोर्गन गिब्स-ह्वाइटले पेनाल्टी गोल गर्न चुके। त्यसको ठीक ५५ सेकेन्डपछि रायन येट्सले आत्मघाती गोल गरेपछि ब्रागाले अग्रता लियो। प्रशिक्षक सन डाइचले यसलाई ‘एक मिनेटको पागलपन’ भन्दै निराशा व्यक्त गरेका छन्। उनले पेनाल्टी मिस भएपछिको केही समय टोली सम्हालिन नसक्दा हार बेहोर्नुपरेको बताए।
यो खेलमा ब्रागाले 'टार्गेट'मा एउटै पनि प्रहार नगरी जित हासिल गर्यो। युरोपा लिगको इतिहासमा विपक्षीको पोस्टमा एउटै पनि सही प्रहार नगरी खेल जित्ने ब्रागा दोस्रो टोली बनेको छ। यो तथ्याङ्कले फरेस्टका लागि हार झनै बिझाउने खालको बनाएको छ।
यद्यपि ब्रागाको आक्रमण पनि धेरै प्रभावशाली थिएन, तर फरेस्टको प्रदर्शन खेलभरि नै निकै कमजोर रह्यो।