राष्ट्रिय लिग २०८२ मा प्लानिङ ब्वाइज युनाइटेड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा प्लानिङले न्युरोड टिम एनआरटीसँग एक एक गोलको बराबरी खेल्यो।
खेलको ४१ मिनेटमा प्लानिङले प्रतापसिंह राईले गरेको गोलबाट अग्रता लियो। तर पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा टिमोथीको गोलबाट एनआरटी खेलमा फर्कियो।
खेल सकिन चार मिनेट बाँकी छदा एनआरटी दश खेलाडीमा सीमित बन्यो। उसका ओमोलाजा करिम दोस्रो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिन बाध्य भयो।
जितपछि प्लानिङ आठ खेलबाट १७ अंक जोडेर शीर्ष स्थानमा पुग्यो। छ-छ खेल खेलेका एपिएफ र मछिन्द्रको १६-१६ अंक छ।
एनआरटी भने आठ खेलबाट १५ अंक जोडेर चौथो स्थानमा छ।
यता दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले नव जन जागृति युवा क्लबलाई ७-० गोलले हरायो। पुलिसका लागि धिरेन्द्र साहले ३६ र ४८ मिनेटमा गरी दुई गोल गरे। यस्तै सन्जिल लामाले पहिलो हाफको इन्जुरी समयमा दुई गोल गरेका थिए। पुलिसका लागि दशरथ गिरी, भरत साह र विजय उरावले एक एक गोल थपे।
लिगमा पुलिस सात खेलबाट सात अंक जोडेर ११औं स्थानमा छ। पुछारको नव जागृतिले अंकको खाता खोल्न सकेको छैन।