युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ।
जसमा चेल्सीले साविक विजेता पेरिस सेन्ट-जर्मेन पिएसजीको सामना गर्नेछ। यस्तै म्यानचेस्टर सिटी र रियल मड्रिड लगातार पाँचौँ सिजन नकआउट चरणमा एक-अर्काविरुद्ध भिड्ने भएका छन्।
यसपटक प्रिमियर लिगका ६ वटा क्लबहरू अन्तिम १६ मा छनोट भएका छन्, तर कुनै पनि इंग्लिस टोली आपसमा भिड्ने छैनन्। प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले बायर लेभरकुजेनसँग खेल्नेछ।
अन्य खेलहरूमा न्युकासल युनाइटेडले बार्सिलोनाको सामना गर्नेछ भने लिभरपुलले गालाटासराय र टोटनह्यामले एट्लेटिको मड्रिडसँग खेल्नेछन्।
पहिलो लेगका खेलहरू मार्च १० र ११ मा हुनेछन् भने दोस्रो लेगका खेलहरू मार्च १७ र १८ मा हुनेछन्।
न्युकासलले बार्सिलोनासँगको पहिलो खेल आफ्नै मैदानमा खेल्नेछ, जबकि अन्य प्रिमियर लिग टोलीहरूले भने पहिलो खेल विपक्षीको मैदानमा खेल्नेछन्। च्याम्पियन्स लिगको फाइनल खेल ३० मे, शनिबार हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा हुनेछ।
च्याम्पियन्स लिगको अन्तिम १६ ड्र
पिएसजीविरुद्ध चेल्सी
रियल मड्रिडविरुद्ध म्यानचेस्टर सिटी
न्युकासलविरुद्ध बार्सिलोना
बोडो/ग्लिम्टविरुद्ध स्पोर्टिङ सीपी
गालाटासरायविरुद्ध लिभरपुल
एटलान्टाविरुद्ध बायर्न म्युनिख
एट्लेटिको मड्रिडविरुद्ध टोटेनह्याम
लेभरकुसेनविरुद्ध आर्सनल
