आफ्नो घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले १० खेलाडीमा सीमित चेल्सीलाई पराजित गरेको छ।
कर्नरबाट दुई उत्कृष्ट गोल गर्दै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा ५ अंकको स्पष्ट अग्रता बनाएको छ।
शनिबार म्यानचेस्टर सिटीले लिड्सलाई हराएर आर्सनलसँगको दुरी २ अंकमा झारेपछि आर्सनलमाथि दबाब बढेको थियो। तर यो जितसँगै आर्सनलले फेरि ५ अंकको अग्रता लिन सफल भएको छ।
खेलको २१ औं मिनेटमा बुकायो साकाको कर्नरमा गाब्रियल मगालहेसले हेडमार्फत पास मिलाइदिएका थिए, जसमा विलियम सालिबाले प्रहार गरेको बल चेल्सीका डिफेन्डर मामाडु सारको हातमा लाग्दै गोलमा परिणत भयो।
एक गोलले पछि परेको अवस्थामा चेल्सीले खेलमा सुधार गर्यो। पहिलो हाफको अन्त्यतिर रिस जेम्सको कर्नरमा आर्सनलका पिएरो हिनकापीले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो।
दोस्रो हाफमा डेक्लान राइसको कर्नरमा जुरियन टिम्बरले हेडमार्फत गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए। यो सिजन कर्नरबाट आर्सनलले गरेको यो १६ औं गोल थियो, जसले टोलीलाई महत्त्वपूर्ण ३ अंक दिलायो।
खेलको २० मिनेट बाँकी छँदा चेल्सीका पेड्रो नेटोले रातो कार्ड पाए। आर्सनलका गाब्रियल मार्टिनेलीले काउन्टर अट्याक गर्न खोज्दा उनलाई लडाएपछि पहिल्यै पहेँलो कार्ड पाइसकेका नेटोले दोस्रो पहेँलो कार्डसँगै मैदान छाड्नुपर्यो।
खेलको अन्तिम समयतिर चेल्सीका लियाम डेलापले गोल गरेका थिए, तर गोल हुनुअघि जाओ पेड्रो अफसाइड देखिएकाले रेफ्रीले त्यसलाई मान्यता दिएनन्।
यो जितसँगै आर्सनल ६४ अंकका साथ शीर्ष स्थानमा छ। म्यानचेस्टर सिटीभन्दा आर्सनल ५ अंकले अगाडि छ, यद्यपि सिटीले आर्सनलको तुलनामा एक खेल कम खेलेको छ।