नेपाल फुटबल खेलाडी संघले विभिन्न माग राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालय एन्फा कम्प्लेक्स सातदोबाटोमा तालबन्दी गरेको छ।
आइतबार संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा गएको टोलीले तीन बुँदे मागसहित एन्फमा ताला लगाएको हो।
संघका मागमा शहिद स्मारक डिभिजन लिगको सन्चालनको निश्चिततता जसमा ए डिभिजनको मिति तोक्नैपर्ने (एन्फाले बचन दिएको मिती भित्रको), खेलाडी अक्षय कोषको विस्तृत विवरण (गत वर्ष एकै प्रतियोगिताबाट जम्मा हुनुपर्ने ६५ लाख सहित) दिनु पर्नेछ।
यस्तै संघले खेलाडको तलब भत्ता तथा पुरस्कार रक (सन् २०१७ देखिको पुरस्कार तथा नियमित तलब भत्ता) जुन हालको कार्यसमितिको बैठक बाट पनि पास गरिएको भन्दै तुरुन्त पाउनु पर्ने माग गरेको छ।
‘फुटबल खेलाडी र समग्र नेपाली फुटबलको हितमा लामो समयदेखि एन्फाविरुद्ध चरणवद्ध रुपमा विभिन्न माग राख्दै आइरहेको छ । पटक-पटक वार्ता र सडक संघर्षका बाबजुद पनि हाम्रो जायज मागहरु एन्फाले बेवास्ता गरेका कारण आजदेखि हाम्रा निम्न मागहरु पूरा नगरेसम्म अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा तालाबन्दी गरेका छौं,’ संघको भनाइ छ।
संघले आइतबार एन्फाबाट सकारात्मक प्रयासको आशा बोकेर एन्फा पुगे पनि तर एन्फाका जिम्मेवारी पदाधिकारी वार्ताका लागि अघि नसर्दा एन्फामा तालावन्दी गर्न बाध्य भएको बताएको छ। संघको भनाइ छ, ‘फुटबलको वास्ता नै हुँदैन भने एन्फा खोलिरहनु औचित्य नहुने हाम्रो बुझाइ हो।’
मागमाथि उचित कार्यान्वयन नहुँदै संघले लगाएको तालावन्दी सहमतिबिना खोलेमा आइपर्ने सम्पूर्ण क्षतिको जिम्मेवारी स्वयं एन्फा नै हुने खेलाडी संघले चेतावनी दिएको छ।