एसियन कपबाट बाहिरिएपछि इरानी महिला फुटबल टोलीका पाँच सदस्यलाई अस्ट्रेलिया सरकारले मानवीय भिसा प्रदान गरेको छ।
अस्ट्रेलियाका अध्यागमन मन्त्री टोनी बर्कका अनुसार ती महिला खेलाडीलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ। उनले टोलीका अन्य सदस्यहरूलाई पनि अस्ट्रेलियामै बस्न चाहेमा स्वागत गरिने बताएका छन्।
गत हप्ता दक्षिण कोरियाविरुद्धको खेलअघि इरानी टोलीले आफ्नो देशको राष्ट्रगान गाउन अस्वीकार गरेको थियो।
त्यसपछि उनीहरूको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरिएको थियो। इरानका कट्टरपन्थी आलोचकहरूले उनीलाई ‘युद्धकालीन देशद्रोही’ को संज्ञा दिँदै कडा सजाय दिनुपर्ने माग गरेका थिए।
अस्ट्रेलियाको मानवीय भिसा कार्यक्रमले शरणार्थी र समस्यामा परेका व्यक्तिहरूलाई स्थायी बसोबास, काम र शिक्षाको अधिकार दिन्छ।
टोलीका बाँकी सदस्यहरूलाई गोल्ड कोस्ट विमानस्थल लगिएको छ, जहाँबाट उनीहरू स्वदेश फर्कने अपेक्षा गरिएको छ।
विमानस्थलमा दर्जनौँ प्रदर्शनकारीले खेलाडीहरूलाई इरान नफर्कन र अस्ट्रेलियामै बस्न आग्रह गर्दै बस रोक्ने प्रयास गरेका थिए। केही प्रदर्शनकारी त बस अगाडि भुइँमा सुतेर बाटो समेत छेकेका थिए।
अध्यागमन मन्त्री बर्कले भिसा पाउने पाँच खेलाडीको नाम सार्वजनिक गरेका छन्। ती हुन्: फातेमेह पासन्दिदेह, जाहरा घानबारी, जाहरा सरबाली, अतेफेह रमजानजादेह र मोना हमौदी।
मन्त्री बर्कले भने, ‘उनीहरू राजनीतिक कार्यकर्ता होइनन्, उनीहरू केवल सुरक्षित रहन चाहने खेलाडी हुन्।’ उनले बाँकी खेलाडीहरूका लागि पनि अस्ट्रेलियाको ढोका खुला रहेको तर धेरै खेलाडीहरू इरानमा रहेका आफ्ना परिवारका कारण अप्ठ्यारो स्थितिमा रहेको बताए।
यस विषयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्। उनले अस्ट्रेलियालाई ती महिलाहरूलाई शरण दिन आग्रह गर्दै अस्ट्रेलियाले नदिए अमेरिकाले लिने बताएका थिए। पछि उनले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग कुरा भएको र स्थिति सम्हालिएको भन्दै खुसी व्यक्त गरे।
मानव अधिकारवादी र पूर्व फुटबलर क्रेग फोस्टरले खेलाडीको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। इरान फर्कने टोलीका सदस्यहरूले दबाबका कारण पछिल्ला खेलहरूमा राष्ट्रगान गाएको र सलामी दिएको बताइएको छ।
स्टेडियममा उपस्थित इरानी समर्थकहरूले खेलाडीको समर्थन गरे पनि खेलाडीहरू भने खुलेर बोल्न सकिरहेका थिएनन्।
इरानमा रहेका परिवारका सदस्यमाथि हुन सक्ने खतराका कारण धेरै खेलाडीले अस्ट्रेलियामै बस्ने अवसर पाउँदा पनि स्वदेश फर्कने निर्णय गरेको हुनसक्ने अनुमान गरिएको छ।
टोलीकी म्यानेजर मर्जिया जाफारीले भने आफूहरू चाँडोभन्दा चाँडो आफ्नो देश र परिवारकहाँ फर्कन चाहेको बताएकी छिन्। यद्यपि, अधिकारवादीले भने यी महिला खेलाडीहरूको स्वतन्त्रता र सुरक्षाका लागि अस्ट्रेलियाले नैतिक नेतृत्व देखाउनुपर्ने माग गरिरहेका छन्।