अमेरिकाको मेजर लिग सकर (एमएलएस) ले सट्टेबाजी सम्बन्धी नियम उल्लंघन गरेको भन्दै मिडफिल्डर डेरिक जोन्स र विङ्गर याव येबोआलाई फुटबलबाट आजीवन प्रतिबन्ध लगाएको छ।
२८ वर्षीय येबोआ गत महिना मात्रै चिनियाँ सुपर लिगको टोली 'छिङदाओ हाइनिउ'मा आबद्ध भएका थिए। त्यसअघि जनवरीमा लस एन्जलस एफसीले उनीसँगको सम्झौता रद्द गरेको थियो। यस्तै, २९ वर्षीय जोन्सलाई गत नोभेम्बरमा कोलम्बस क्रुले टोलीबाट हटाएको थियो।
एमएलएसअनुसार यी दुई खेलाडीले सन् २०२४ र २०२५ को सिजनमा आफ्नै टोलीका खेललगायत फुटबलका अन्य थुप्रै खेलमा व्यापक रूपमा सट्टेबाजी गरेको पाइएको छ।
अनुसन्धानका क्रममा १९ अक्टोबर २०२४ मा भएको कोलम्बस क्रु र न्युयोर्क रेड बुल्सबीचको खेलमा एउटा गम्भीर घटना फेला परेको थियो। उक्त खेलमा जोन्सले 'पहेंलो कार्ड' पाउने विषयमा दुवै खेलाडीले पैसा बाजी राखेका थिए र खेलको दौरान जोन्सले पहेंलो कार्ड नै पाएका थिए। जोन्स र येबोआ सन् २०२४ को सिजनमा कोलम्बस क्रुमा एकैसाथ खेल्ने सहकर्मी थिए।
लिगले भनेको छ, ‘यी खेलाडीहरूले आफूले पहेंलो कार्ड लिने योजनाका बारेमा अन्य सट्टेबाजहरूलाई समेत गोप्य जानकारी बाँडेको हुनसक्ने देखिएको छ।’ यद्यपि उनीहरूको सट्टेबाजीका कारण खेलको अन्तिम नतिजा (हार वा जित) मा भने कुनै असर परेको प्रमाण भेटिएको छैन।
घानाका राष्ट्रिय खेलाडी येबोआ सन् २०१४ देखि २०१८ सम्म म्यानचेस्टर सिटीमा आबद्ध थिए, तर उनले त्यहाँको मुख्य टोलीबाट खेल्ने मौका पाएनन्। उनले फ्रान्स, नेदरल्याण्ड्स, स्पेन र पोल्याण्डका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन्।
घानामा जन्मिएका जोन्सले भने आफ्नो पूरै खेल जीवन अमेरिकामा बिताएका छन्। उनले अमेरिकाको २३ वर्ष मुनिको राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन्।