नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मा लगाएको तालाबन्दी खुलेको छ।
एन्फा र खेलाडी संघबीच आज एन्फाकै खेलाडी होस्टलमा भएको वार्तापछि तालाबन्दी खुलेको हो।
वार्तामा सहिद स्मारक ए डिभिजन लिग चैत ३० गतेदेखि गर्ने सहमति भएको छ। यस्तै आगामी मंसिरभित्रमा बी डिभिजन र सी डिभिजन पनि सक्ने सहमति भएको एन्फा प्रवक्ता सुरेश शाहले बताए।
साथै खेलाडी संघले अक्षय कोषमा रकम जम्मा गर्नु पर्ने मागमा पनि सहमति जुटेको छ। सहमतिअनुसार कोषमा जम्मा गर्नु पर्ने रकम सकेसम्म चाडो जम्मा गरिनेछ।
यस्तै खेलाडीका लागि घोषणा भएको पुरस्कार चैतभित्र एक किस्ता दिने र त्यसपछि अरु दिँदै जाने पनि सहमति भएको प्रवक्ता शाहको भनाइ छ।
यसअघि गत आइतबार खेलाडी संघले तीन बुँदे माग राख्दै एन्फा मुख्यालय सातदोबाटोमा तालाबन्दी गरेको थियो।
खेलाडी संघले ए डिभिजन लिगको सन्चालनको निश्चितता गर्दै ए डिभिजनको मिति तोक्नैपर्ने, खेलाडी अक्षय कोषको विस्तृत विवरण (गत वर्ष एकै प्रतियोगिताबाट जम्मा हुनुपर्ने ६५ लाख सहित) दिनुपर्ने र खेलाडीको तलब भत्ता तथा पुरस्कार रकम (सन् २०१७ देखिको पुरस्कार तथा नियमित तलब भत्ता) जुन हालको कार्यसमितिको बैठकबाट पनि पास गरिएको भन्दै तुरुन्त पाउनुपर्ने माग गरेको थियो।