अमेरिका र इरानबीच युद्धको स्थिति रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी फुटबल टोलीलाई यसै वर्ष हुने विश्वकपमा सहभागी हुन ‘स्वागत’ गर्ने बताएका छन्।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले ट्रम्पको भनाइ पुष्टि गरेका हन्।
इन्फान्टिनोले इन्स्टाग्राममार्फत आफूले मंगलबार राष्ट्रपति ट्रम्पलाई भेटेर विश्वकपको तयारीबारे छलफल गरेको बताए।
यसपटकको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्, जुन जुन ११ देखि सुरु हुँदैछ।
अमेरिका र इजरायलले हालै इरानमा गरेको आक्रमण त्यहाँका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको थियो। त्यसपछि दुई देशबीच तनाव बढेको छ।
यसको बदलामा इरानले पनि इजरायल र अमेरिकी सैन्य अखडा रहेका खाडी मुलुकहरूमा मिसाइल र ड्रोन प्रहार गरेको थियो। यस्तो युद्धको माहोलका कारण इरानले विश्वकप खेल्नेमा शंका उब्जिएको थियो।
इन्फान्टिनोका अनुसार राष्ट्रपति ट्रम्पले इरानी टोलीलाई अमेरिका आएर खेल्न कुनै रोकतोक नहुने र उनीहरूलाई स्वागत छ भनी स्पष्ट पारेका छन्। ट्रम्पले केही समयअघि ‘इरानले विश्वकप खेले पनि मलाई कुनै खास फरक पर्दैन’ भनेका थिए।
फिफा अध्यक्ष इन्फान्टिनोले भनेका छन्, ‘अहिलेको समयमा मानिसहरूलाई एक ठाउँमा ल्याउन विश्वकप जस्तो खेलकुदको ठूलो आवश्यकता छ। म राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिन्छु, जसले फुटबलले संसारलाई जोड्छ भन्ने कुरा पुनः प्रमाणित गरिदिनुभएको छ।’
इरानले जुन १५ मा न्युजिल्याण्ड र जुन २१ मा बेल्जियमसँग लस एन्जलसमा खेल्ने कार्यक्रम छ। त्यस्तै,जुन २६ मा सियाटलमा इजिप्टसँग खेल्ने तालिका छ।
इरानी फुटबल संघका अध्यक्ष मेहेदी ताजले भने आक्रमणहरूका कारण विश्वकपलाई आशावादी नजरले हेर्न गाह्रो भइरहेको बताएका छन्। अर्कोतर्फ अस्ट्रेलियाले इरानको महिला फुटबल टोलीका केही सदस्यहरूलाई सुरक्षाको कारण देखाउँदै शरण दिएको छ।