थ्रीस्टार क्लबले उच्च अदालत पाटनले ‘ए’ डिभिजन लिगमै रहने फैसला गरेकाले आफूहरूलाई ए डिभिजन क्लबको रूपमा अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा मताधिकार प्राप्त हुनु पर्ने माग गरेको छ।
गत फागुन १३ गते उच्च अदालत पाटनले गरेको फैसालको पूर्ण पाठ प्राप्त भएको बताउँदै अब एन्फाले थ्रीस्टारलाई ए डिभिजनको हैसियत कायम गर्दै मताधिकार प्राप्त गर्नु पर्ने माग गरेको हो।
मागसहित थ्रीस्टारले एन्फा महासचिव किरण राईलाई बुधबार ज्ञापनपत्र समेत बुझाएको छ।
‘एन्फाको अनुशासन समितिको निर्णय र पुनरावेदन समितिको निर्णयलाई उत्प्रेषणको आदेशले बदर गरेको अवस्था छ। सो आदेश बमोजिम थ्रीस्टार क्लबले ए डिभिजन क्लबको मान्यता कायम गरेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यस्तो अवस्थामा अखिल नेपाल फुटबल संघको विधान अनुरुप मताधिकार प्राप्त गर्ने भएको हुँदा एपिएफ फुटबल क्लबको मताधिकार प्रतिनिधि जीवेशकुमार पाण्डेको मताधिकार बदर गरी यसै क्लबका कार्यकारी समितिका उपाध्यक्ष जयकृष्ण श्रेष्ठलाई यस क्लबको मताधिकार प्रतिनिधि एवम् यसै क्लबका कार्यकारी समितिका सदस्य हरि महर्जनलाई प्रतिनिधि कायम गर्न आवश्यक कागजातहरु यसै निवेदन साथ सामेल राखी निर्वाचनमा सामेल गरी पाउन अनुरोध गर्दछौं।’
यसअघि एन्फासहित नौ जनाविरूद्ध उच्च अदालत पाटनमा दायर गरेको रिटमा थ्रीस्टार क्लबको पक्षमा फैसला आएको थियो।
थ्रीस्टारलाई एन्फाले गत असार बी डिभिजन घटुवा गर्ने निर्णय गरेको थियो। लिग सकिएको दुई वर्षपछि रेलिगेसनमा परेको थ्रीस्टारले त्यसपछि असार १८ गते मुद्दा दायर गरेको थियो।
न्यायाधीशद्वय श्रीधरा कुमारी पुडासैनी र कृष्ण मुरारी शिवाकोटी संयुक्त इजलासले थ्रीस्टारको पक्षमा फैसला गरेको हो।
गत असारमा एन्फाको अपिल कमिटीले २०८० मा सकिएको सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा थ्रीस्टार क्लबले हात पारेको नतिजा उल्टाउने निर्णय गरेको थियो।
सो खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई १-० गोलले हराएको थियो। सो जितसँगै थ्रीस्टार रेलिगेसनबाट बचेको थियो। थ्रीस्टार रेलिगेसनबाट बच्दा सशस्त्र प्रहरी बलको एपिएफ क्लब भने रेलिगेसनमा परेको थियो।
त्यसपछि एपिएफले एन्फामा उजुरी गर्दै थ्रीस्टारले भिसा सकिएका विदेशी खेलाडी खेलाएको दाबी गरेको थियो। एपिएफले दुई विदेशी खेलाडी पिटर र मार्टिन्सको भिसा सकिए पनि खेलाएको दाबी गरेको थियो।
छानविनका क्रममा उनीहरुको भिसाको म्याद सकिएको पाइएको थियो। यद्यपी एन्फाले थ्रीस्टारलाई जरिवाना मात्र गरेको थियो। त्यसपछि फेरि अपिल गरिदा एपिएफको पक्षमा अपिल कमिटीले निर्णय गरेको थियो।
यससँगै पूर्व च्याम्पियन थ्रीस्टार बी डिभिजनमा झरेको थियो। नजिता उल्टाएर जावलाखेललाई जित दिइएको थियो। यसले १३औं स्थानमा झरेको थ्रीस्टारको २९ अंक हुँदा १२औं स्थानमा उक्लने एपिएफको ३० अंक हुन्छ। पुछारको खुलमटारको २७ अंक थियो। अब भने फेरि एपिएफ थ्रीस्टारभन्दा पछि पर्दै बी डिभिजन झर्ने अवस्था हुन्छ।