इरानका खेलकुद मन्त्री अहमद दुनियामालीले आफ्नो देश २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको बताएका छन्।
अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको यो विश्वकप जुन ११ देखि सुरु हुँदैछ। तालिका अनुसार इरानले जुन १५ मा न्युजिल्याण्ड, जुन २१ मा बेल्जियम र जुन २६ मा इजिप्टसँग खेल्नुपर्ने थियो।
तर, पछिल्लो समय अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युपछि इरानको सहभागिता अन्योलमा परेको हो। यसको जवाफमा इरानले पनि इजरायल र अमेरिकी सैन्य अखडा रहेका अन्य देशहरूमा मिसाइल र ड्रोन प्रहार गरेको थियो।
यसैबीच, फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट गरेपछि ट्रम्पले इरानलाई विश्वकपमा "स्वागत छ" भनेको बताएका थिए।
तर इरानी मन्त्री दुनियामालीले सरकारी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भनेका छन्, "हाम्रा नेताको हत्या गर्ने भ्रष्ट सरकारको देशमा गएर खेल्ने कुनै परिस्थिति छैन। हाम्रा खेलाडीहरू त्यहाँ सुरक्षित छैनन्।" उनले थपे, "बितेका ८–९ महिनामा हामीमाथि दुईवटा युद्ध लादिएको छ र हाम्रा हजारौं मानिसहरू सहिद भएका छन्। त्यसैले हामी विश्वकपमा सहभागी हुन सक्ने कुरै छैन।"
इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजले पनि सहभागितामा प्रश्न उठाएका छन्। हालै अष्ट्रेलियामा भएको एसियन कप खेल्न गएका इरानी महिला टोलीका ६ जना सदस्यले सुरक्षाको कारण देखाउँदै अष्ट्रेलियामा शरण मागेका थिए। यस घटनालाई जोड्दै ताजले भने, "महिला खेलाडीहरूसँग त्यस्तो व्यवहार भएको अवस्थामा, कुनै पनि समझदार व्यक्तिले आफ्नो टोली अमेरिका पठाउन मान्दैन।"
यदि इरान विश्वकपबाट बाहिरिएमा उसको ठाउँमा कुन देशले खेल्नेछ भन्ने निर्णय फिफाले गर्नेछ। सम्भवतः एसियाली राष्ट्रहरू इराक वा संयुक्त अरब इमिरेट्स मध्ये एकले मौका पाउन सक्ने अनुमान गरिएको छ। यद्यपि, फिफाको नियम अनुसार अर्कै महादेशको टोलीलाई पनि छनोट गर्न सकिनेछ।