इंग्लिस प्रिमियर लिगको पछिल्लो खेलमा आर्सनलले एभर्टनलाई पराजित गर्दै उपाधि होडमा आफ्नो पकड बलियो बनाएको छ भने म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।
आर्सनलले एभर्टनलाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ। यस खेलमा १६ वर्षीय युवा खेलाडी म्याक्स डाउम्यानले इतिहास रचेका छन्।
खेलको अन्तिम समयमा गोल गर्दै उनी प्रिमियर लिग इतिहासकै सबैभन्दा कान्छो गोलकर्ता बनेका छन्। उनले १६ वर्ष ७३ दिनको उमेरमा गोल गर्दै सन् २००५ मा जेम्स भानले राखेको कीर्तिमान तोडेका हुन्।
खेलको ८९औं मिनेटसम्म एभर्टनले आर्सनललाई बराबरीमा रोकेर राखेको थियो। तर, एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डको गल्तीको फाइदा उठाउँदै आर्सनलका वैकल्पिक खेलाडी भिक्टर ग्योकेरेसले गोल गरी टोलीलाई अग्रता दिलाए।
खेलको अन्तिम समयमा गोलकिपर पिकफोर्ड गोल गर्नका लागि आर्सनलको पोस्टतर्फ अगाडि बढेको मौका छोपी डाउम्यानले खाली पोस्टमा गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे।
अर्कोतर्फ उपाधि रक्षा गर्ने दाउमा रहेको म्यानचेस्टर सिटी भने वेस्ट ह्यामसँग १-१ गोलको बराबरीमा रोकिएको छ। यस बराबरीसँगै सिटी आर्सनलभन्दा ९ अंकले पछि परेको छ।
खेलको ३१औं मिनेटमा बर्नार्डो सिल्भाले उत्कृष्ट गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, त्यो खुसी धेरै समय टिक्न सकेन।
त्यसको चार मिनेटपछि नै वेस्ट ह्यामका कोन्स्टान्टिनोस माभ्रोपानोसले कर्नरबाट आएको बललाई हेडरमार्फत गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए। च्याम्पियन्स लिगमा रियल मड्रिडसँग पराजित भएको सिटी यस खेलमा पनि खासै लयमा देखिएन।
यो बराबरीले वेस्ट ह्यामलाई भने ठूलो राहत मिलेको छ। टोली डिसेम्बरपछि पहिलोपटक रेलिगेसन क्षेत्र (अन्तिम तीन स्थान) बाट बाहिर निस्कन सफल भएको छ। सिटीका लागि अर्लिंग हालान्डले केही राम्रा अवसर पाए पनि गोल गर्न सकेनन्।