अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत ३० गतेदेखि सहिद स्मारक ए डिभिजन लिग गर्ने तयारी गरेपछि क्लबहरुले विभिन्न सात माग राखेका छन्।
सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै क्लबहरुले एन्फाको आलोचना गर्दै सात माग अघि सारेका हुन्।
यसअघि नेपाल फुटबल खेलाडी संघसँगको वार्तामा ए डिभिजन लिग चैत ३० गतेदेखि गर्ने सहमति भएको थियो। त्यहिँअनुरुप एन्फाले क्लबहरूलाई पत्राचार गरेको थियो। तर क्लबहरूले यो सहमतिलाई एकलौटी भनेको छ।
क्लबहरूको विज्ञप्तिमा भनिएको छ., ‘आज एउटा निर्णय गर्ने, सम्झौता गर्ने भोलि कार्यान्वयन नगर्ने, आफ्नो खुसीले एकलौटी निर्णय गर्ने प्रवृत्तिप्रति हामी सरोकारवाला आजित भइसकेका छौ।’
क्लबहरूको माग यस्ता छन् :-
१. एन्फा र ए डिभिजन क्लब बिच लिगको सम्बन्धमा मिति २०८२/०७/१७ गते भएको कार्य तालिका सहितको सहमति कार्यान्वयन गर्नुपर्ने।
२. राष्ट्रिय लिग चालु रहि रहेको अबस्थामा ट्रान्सफर विन्ड खुल्ला नगरि कसरी अर्को क्लबमा खेलाडी सम्झौता गर्न सकिन्छ? तसर्थ क्लबको सम्झौता अनुसार कार्य गर्नुपर्ने।
३. क्लबहरुले विदेशी खेलाडी आबद्ध गर्दा वर्क परमिट लिनलाई पर्याप्त समय आवश्यक पर्ने हुन्छ। राष्ट्रिय लिगमै पनि एन्फाले परमिटको लागि गर्ने सहजिकरण नगरेकोले अन्योलता सिरजना विएकोले बिदेशी खेलाडीहरूको हकमा विन्ड खुला गरी एकद्वार प्रणालीबाट परमिट लिने व्यवस्था अबिलम्ब गर्नुपर्ने।
४. प्रतियोगिता नियमावली अनुसार सहिद स्मारक ए डिभिजन लिगको लागि १४ क्लबको सहभागी हुने भन्ने उल्लेख गरिएकोले लिगको वैधताको तथा कानुनी अड्चन आउन नदिन एन्फाले समयमै निर्णय गरि १४ वटा क्लबको सहभागिता सुनिश्चितता गर्नुपर्ने।
५. मिति २०८२/११/२६ गते क्लबहरूले एन्फालाई बुझाएको ध्यानाकर्षण पत्र विपरीत एकलौटी तबरले सहभागी क्लबहरूसँग छलफल नै नगरि मनोमानि तबरले लिग नगर्ने उद्देश्यका साथ लिगको मिति तय गरेकोमा उक्त निर्णय अबिम्ब सच्चाइ क्लबहरू सहमति अनुसार निर्णय गर्न अनुरोध गर्दछौ।
६. क्लबसँगको सहमति बमोजिम राष्ट्रिय लिग समाप्त भएको ३० दिन पश्यात 'ए' डिभिजन लिगका लागि प्रारम्भिक छलफल सुरु गरि लिगको बारेमा निर्णय गर्ने सहमतिलाई कार्यान्वयन गर्नु पर्नेमा बिनाछलफल सहमति बेगर राष्ट्रिय लिग चलिरहेको अबस्थामा लिगको मिति तय भएकोमा गम्भीर असहमति जनाउदै सहभागी क्लब तथा सम्झौता बमोजिम कार्य तालिका प्रकाशित गर्न अनुरोध गर्दछौ।
७. लिग सम्बन्धि प्राविधिक तथा आर्थिक पक्ष सबै सुनिश्चितता गरि क्लबसँगको सहमतिमा मात्र लिगको मिति तय गर्नुपर्ने।