यस वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुन लागेको विश्वकप फुटबलमा इरानका खेलहरू अमेरिकाबाट मेक्सिको सार्ने प्रस्तावलाई फिफाले अस्वीकार गरेको छ।
इरानको फुटबल संघले आफ्ना खेलाडीहरूको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेको थियो। अमेरिका र इजरायलसँग इरानको तनाव र सैन्य टकराव चलिरहेको हुनाले इरानले आफ्ना खेलहरू अमेरिकाको सट्टा मेक्सिकोमा गराउन माग गरेको थियो।
तर फिफाले मंगलबार एक विज्ञप्ति जारी गर्दै सबै देशहरूले पहिले नै तय भएको खेल तालिका अनुसार नै खेल्नुपर्ने बताएको छ। यसको अर्थ इरानले आफ्ना खेलहरू अमेरिकामै खेल्नुपर्ने हुन्छ।
तालिका अनुसार इरानले जुन १६ मा न्युजिल्यान्ड र जुन २१ मा बेल्जियमसँग 'लस एन्जलस'मा खेल्नेछ। त्यस्तै, जुन २७ मा इजिप्टसँग 'सियाटल'मा खेल्ने तय भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विश्वकपमा स्वागत छ त भनेका छन्, तर उनीहरूको ‘जीवन र सुरक्षा’का लागि इरान सहभागी हुनु उपयुक्त नहुने आशयको कुरा गरेका थिए।
इरानी फुटबल संघका अध्यक्ष मेहदी ताजले भनेका छन्, ‘जब ट्रम्प आफैँले सुरक्षाको ग्यारेन्टी दिन सक्दिनँ भन्छन् भने हामी अमेरिका जाँदैनौँ।’ इरानले सुरक्षा दिन नसक्ने देशले आयोजकको भूमिका निभाउन नहुने तर्क समेत गरेको छ।
सुरक्षा वा राजनीतिक कारणले खेलहरू अर्कै ठाउँमा सारिएका उदाहरणहरू पहिले पनि छन्। रुस-युक्रेन युद्धका कारण बेलारुसले आफ्ना खेलहरू हंगेरीमा खेलेको थियो। भारत र पाकिस्तानबीचको तनावका कारण उनीहरू एक-अर्काको देशमा नगई तटस्थ ठाउँमा क्रिकेट खेल्ने गर्छन्।
डिसेम्बर २०२५ मा फिफाले अमेरिकी राष्ट्रपति ट्रम्पलाई 'फिफा शान्ति पुरस्कार' प्रदान गरेको थियो। तर हाल अमेरिका र इरानबीचको युद्धको स्थितिले गर्दा खेलकुदमा पनि यसको ठूलो प्रभाव परेको छ।