राष्ट्रिय खेलकुद परिषदले नेपाल र हङकङबीच चैत १२ गते हुने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आफ्नो कारण स्थगित नभएको बताएको छ।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलकुद परिषदले स्वीकृत नदिएको भन्दै नेपाल र हङकङबीच दशरथ रंशगालामा हुने खेल स्थगित भएको बताएको थियो।
यो पनि :- नेपाल र हङकङबीचको खेल स्थगित
‘राष्ट्रिय खेलकुद परिषद्ले स्वीकृती नदिएको भन्दै एन्फाले हङकङसँग चैत १२ गते दशरथ रंगशालामा आयोजना गरिने मैत्रीपूर्ण खेल स्थगित गरेको भन्ने भ्रमपूर्ण समाचारप्रति राष्ट्रिय खेलकुद परिषद्को गम्भिर ध्यानाकर्षण भएको छ। एन्फाले प्रकाशित गरेको विज्ञप्तीको आधारमा विभिन्न सन्चार माध्यमवाट प्रकाशित / प्रसारित समाचारको राष्ट्रिय खेलकुद परिषद् खण्डन गर्दछ,’ खेलकुद परिषदका सूचना अधिकारी खुसराज दाहालको भनाइ छ।
खेलका लागि खेलकुद परिषदको संघसस्था समन्वय शाखा र रंगशाला, फ्लडलाईट, स्कोरबोर्ड र अन्य पूर्वाधार प्रयोग सम्बन्धमा परिषद्को सामान्य प्रशासन शाखाको पत्रमार्फत नै स्वीकृती र अनुमति दिइसकेको दाहालले बताए।
‘नेपाली खेलकुदको विकास र विस्तारका लागि क्रियाशिल राष्ट्रिय खेलकुद परिषद्लाई भ्रमपूर्ण आरोप लगाई आफूले गर्नुपर्ने कार्य नगरी कमजोरी लुकाउने प्रयास बन्द गर्न राष्ट्रिय खेलकुद परिषद् जानकारी गराउँदछ। साथै एन्फाको भ्रमपूर्ण समाचारले पार्ने असर प्रति सचेत रहन सरोकारवाला सम्पूर्णलाई आग्रह गर्दछौ,’ दाहालले निकालेको विज्ञप्तिमा भनिएको छ।


