च्याम्पियन्स लिग फाइनलमा आर्सनलको हारको सबैभन्दा बिझाउने दृश्य थियो— डिफेन्डर ग्याब्रियल टाउकोमा हात राखेर मैदानमा थुचुक्क बसेको र उनलाई प्रतिद्वन्द्वी टोली पिएसजीका कप्तान तथा ब्राजिलियन सहयात्री मार्किन्होसले सान्त्वना दिइरहेको क्षण।
आफ्नो खेल जीवनको पहिलो युरोपेली फाइनल खेलिरहेका यी डिफेन्डरका लागि यो रात अत्यन्तै पीडादायी रह्यो। उनले प्रहार गरेको पेनाल्टी क्रसबार भन्दा माथिबाट बाहिरिएपछि आर्सनलको उपाधि जित्ने सपना समाप्त भयो र पीएसजीले सफलतापूर्वक आफ्नो च्याम्पियन लिग पेनाल्टी सुटआउटमा जित्दै रक्षा गर्यो।
यो सिजन आर्सनलका लागि कयौँ पटक 'संकटमोचक' बनेका ग्याब्रियलले सायदै सोचेका थिए होलान् कि सन् २००६ पछि क्लबको पहिलो च्याम्पियन्स लिग फाइनलमा उनको योगदान यति दुखद हुनेछ।
खेलपछि म्यानेजर मिकेल अर्टेटाले खुलासा गरे कि सामान्यतया बुकायो साका, मार्टिन ओडेगार्ड र काई हाभर्ट्ज पेनाल्टी हान्ने भए पनि ग्याब्रियल आफैँले पेनाल्टी प्रहार गर्ने हिम्मत देखाएका थिए। ‘उनी आफैँ पेनाल्टी हान्न चाहन्थे,’ अर्टेटाले भने।
बीबीसी रेडियोमा टिप्पणी गर्दै पूर्व डिफेन्डर म्याट उप्सनले यसलाई सन् २००८ को फाइनलमा चेल्सीका कप्तान जोन टेरीले पेनाल्टी चुकाएको क्षणसँग तुलना गरे। टेरी चिप्लिएर पेनाल्टी मिस गर्दा चेल्सीले उपाधि गुमाएको थियो, ठीक त्यस्तै नियति अहिले ग्याब्रियलले भोग्नुपर्यो।
हंगेरीको बुडापेस्टस्थित पुस्कास एरेनामा खेलको सुरुवात आर्सनलका लागि सपना जस्तै थियो। खेलको छैटौँ मिनेटमै काई हाभर्ट्जले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। डिफेन्समा ग्याब्रियलले पर्खाल बनेर पीएसजीका खतरनाक स्ट्राइकरहरूलाई रोकेका थिए। उनले खेलभरि १३ पटक बल क्लियर गरेका थिए, जुन मैदानमा रहेका कुनै पनि खेलाडीको भन्दा बढी थियो।
तर, ओस्मान डेम्बेलेले पेनाल्टीमार्फत गोल फर्काएपछि खेल बराबरीमा पुग्यो र अन्ततः पेनाल्टी सुटआउटको निर्णयमा पुग्यो। सुटआउटमा आर्सनलका एबेरेची एजेले पनि पेनाल्टी चुकाएका थिए, तर ग्याब्रियलको प्रहार निर्णायक बन्यो।
हारपछि डेक्लान राइसले भने, ‘फाइनलमा पेनाल्टी मिस गर्नु निकै पीडादायी हुन्छ, तर हामी ग्याब्रियलको साथमा छौँ। उनी बिना हामीले यो सिजन प्रिमियर लिग जित्न सक्ने थिएनौँ।’
यस सिजन आर्सनलका लागि ६३ मध्ये ४८ खेल खेल्दै ९ गोल र असिस्ट गरेका ग्याब्रियलका लागि यो एउटा रात 'कालो सपना' जस्तै बन्यो। विपक्षी फ्यानहरूले उनको यो गल्तीलाई सम्झिरहलान, तर आर्सनलका समर्थकहरूले उनले सिजनभरि टोलीका लागि पुर्याएको अतुलनीय योगदान र न्यूक्यासल विरुद्धको त्यो ९६ औँ मिनेटको गोल सधैँ सम्झिनेछन्।