पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन्। अल नासरको जर्सीमा ९०८ दिनपछि ह्याट्रिक पूरा गर्दै उनले लामो समयदेखिको प्रतीक्षा समाप्त गरेका छन्।
अल नासर र अल खलिजबीच बिहीबार साँझ भएको खेलमा रोनाल्डोले तीन गोल गरे। खेलको पहिलो हाफ भने उनका लागि निराशाजनक रह्यो। उनले गरेका दुई गोललाई रेफ्री खालिद अल तुराइसले अफसाइड भन्दै मान्यता दिएनन्। रेफ्रीको निर्णयप्रति असन्तुष्ट रोनाल्डोले मैदानमै आक्रोश व्यक्त गरेका थिए।
तर, दोस्रो हाफमा रोनाल्डोले आफ्नो क्षमता देखाए। पहिलो हाफको निराशालाई बिर्साउँदै उनले लगातार गोल गर्न थाले।
खेलको ६६औँ मिनेटमा पोर्चुगिज सहकर्मी जोआओ फेलिक्सको उत्कृष्ट पासलाई सदुपयोग गर्दै रोनाल्डोले अल नासरलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि अर्थात् ७२औँ मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै उनले टोलीको अग्रता दोब्बर बनाए।
त्यसपछि खेलको ८१औँ मिनेटमा साडियो मानेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै रोनाल्डोले व्यक्तिगत तेस्रो गोल गरे। यससँगै उनले ह्याट्रिक पूरा गरे र पहिलो हाफमा अफसाइडका कारण गुमाएका गोलको निराशालाई अविस्मरणीय प्रदर्शनमा बदलिदिए।
रोनाल्डोले अल नासरको जर्सीमा ९०८ दिनपछि ह्याट्रिक गरेका हुन्। यसअघि उनले सन् २०२४ मे ४ मा अल वेहदाविरुद्धको खेलमा अन्तिम पटक ह्याट्रिक गरेका थिए। लामो समयपछि एकै खेलमा तीन गोल गर्ने सफलता हात पार्दै उनले आफ्नो कीर्तिमानमा अर्को उपलब्धि थपेका छन्।
यस खेलमा गरेको तेस्रो गोलसँगै रोनाल्डोको व्यावसायिक फुटबल करिअरमा कुल गोल संख्या ९८५ पुगेको बताइएको छ। अब उनी ऐतिहासिक एक हजार गोलको कीर्तिमानबाट मात्र १५ गोल टाढा छन्।
४१ वर्षको उमेरमा पनि निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका रोनाल्डोको नजर अब फुटबल इतिहासकै दुर्लभ उपलब्धि मानिने एक हजार गोलको कोशेढुंगामा छ।