नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद र अन्योल थप पेचिलो बनेको छ।
आर्थिक अनियमितता तथा खेलमिलेमतोसम्बन्धी विषयमा राज्यका विभिन्न निकायबाट भइरहेको अनुसन्धान र अदातलमा मुद्दाका बीच एन्फाको बहुतम कार्यसमिति सदस्यको पहलमा बसेको बैठकले संस्थागत कामकारबाही अघि बढाउन महत्वपूर्ण निर्णय गरेको छ।
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षतामा शुक्रबार बसेको बैठकले अभियोजनमा परेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई पत्राचार गर्ने निर्णय गरेको हो।
एन्फा विधान २०७७ को धारा ३९ (२) बमोजिम आह्वान गरिएको बैठकमा पदाधिकारीसहित १२ जना केन्द्रीय सदस्य सहभागी थिए। एक जना सदस्य भने भर्चुअल माध्यमबाट सहभागी भएको एन्फाले जनाएको छ।
बैठकले एन्फाको वर्तमान अवस्थाले समग्र नेपाली फुटबल परिवारमा अन्योल सिर्जना गरेको निष्कर्ष निकाल्दै संस्थालाई नियमित प्रक्रियामा फर्काउने र प्रशासनिक तथा संस्थागत कामकारबाहीलाई व्यवस्थित बनाउने आवश्यकता औंल्याएको छ।
अध्यक्ष, महासचिवसहितका पदाधिकारी तथा कर्मचारीविरुद्ध भइरहेका अनुसन्धान, अभियोजन र अदालतसँग सम्बन्धित विषयमा कार्यसमितिलाई पर्याप्त जानकारी नभएको भन्दै सम्बन्धित व्यक्तिहरूसँग त्यसबारे जानकारी माग्ने निर्णय बैठकले गरेको हो।
एन्फा सचिवालय प्रमुख महासचिवसमेत अभियोजनमा परेको अवस्थामा संघको दैनिक प्रशासनिक तथा संस्थागत काम प्रभावित हुन नदिन सहायक महासचिव दामोदर भट्टराईलाई निमित्त महासचिवको जिम्मेवारी दिने निर्णय गरिएको छ।
एन्फा विधानको धारा ३८ (६) र ६६ (४) अनुसार अर्को निर्णय नभएसम्मका लागि भट्टराईलाई कार्यसमितिको अधिकारक्षेत्रभित्र रहेर निमित्त महासचिवका रूपमा काम गर्ने जिम्मेवारी दिइएको हो।
अब उनले संघको दैनिक कार्य सञ्चालन, सम्बन्धित सरकारी तथा अन्य निकायसँग आवश्यक पत्राचार र प्रशासनिक कामकारबाही अघि बढाउनेछन्।
फिफा, एएफसी र सरकारसँग समन्वय गर्न समिति
बैठकले विश्व फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी), नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट एन्फालाई विभिन्न समयमा प्राप्त पत्राचार तथा निर्देशनको अवस्थाबारे अध्ययन र समन्वय गर्न समिति गठन गरेको छ।
उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा गठित समितिमा उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी तथा सदस्यद्वय मनिष जोशी र टीकाराम लामा छन्। निमित्त महासचिव दामोदर भट्टराई समितिको सदस्य सचिव रहनेछन्।
एन्फाले सम्बन्धित निकायबाट प्राप्त पत्रहरूको अवस्था पत्ता लगाई आवश्यक समन्वय र प्रक्रियागत काम अघि बढाउने जिम्मेवारी समितिलाई दिएको छ।
एन्फा निर्वाचनका लागि त्रिपक्षीय बैठकको पहल
एन्फा निर्वाचनको विषयलाई समेत बैठकले प्राथमिकतामा राखेको छ। निर्वाचनलगायतका विषयमा फिफा, एएफसी र नेपाल सरकारका प्रतिनिधिबीच भौतिक उपस्थितिमा बैठक आयोजना गर्न पहल गर्ने निर्णय गरिएको छ।
यसका लागि आजैदेखि आवश्यक प्रक्रिया अघि बढाउन एन्फा सचिवालयलाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।
नेपाली फुटबलको आगामी नेतृत्व चयन र संस्थागत स्थायित्वका लागि निर्वाचनको विषय महत्वपूर्ण बन्दै गएको अवस्थामा एन्फाले अन्तर्राष्ट्रिय फुटबल निकाय र सरकारबीच समन्वयको प्रयास अघि बढाउन लागेको हो।
यसैबीच बैठकले दिवंगत दीपेन्द्र धिमालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।
फिफा यू–१५ वर्ल्ड फुटबल फेस्टिभलमा उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली युवा खेलाडीलाई बधाई दिँदै उनीहरूको प्रोत्साहन तथा सम्मानका लागि नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद्सँग अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ।