इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले निराशाजनक हार बेहोरेका छन्। सिटीलाई ब्राइटनले १–० गोलले स्तब्ध बनाउँदा चेल्सीले म्यानचेस्टर युनाइटेडमाथि २–० को सहज जित निकालेको छ।
गत साता काराबाओ कपबाट बाहिरिएपछि ब्राइटनले सिटीसँग बदला लिएको छ। बुधबार भएको खेलमा सिटीसँग पेनाल्टी सुटआउटमा पराजित भएको ब्राइटनले शनिबार भने प्रिमियर लिगमा सिटीलाई उसकै मैदानमा हराएको हो।
ब्राइटनको जितमा यासिन आयारीले निर्णायक गोल गरे। खेलको ११औं मिनेटमा सिटीका डिफेन्डर माटेउस नुनेसको खराब क्लियरेन्सको फाइदा उठाउँदै आयारीले नजिकैबाट गोल गरेका थिए।
खेलमा फर्कन सिटीले लगातार प्रयास गरे पनि ब्राइटनका गोलरक्षक बार्ट भेर्ब्रुगेन बाधक बने। उनले इलिमान एनडियायका उत्कृष्ट प्रहारहरू रोक्दै टोलीको अग्रता जोगाए। एनडियायको एक शक्तिशाली प्रहारलाई उनले क्रसबारमा लाग्ने गरी बचाएका थिए।
एर्लिङ हालान्डले पनि गोलका केही अवसर पाए। तर, ब्राइटनको रक्षापंक्ति र गोलरक्षकको प्रदर्शनसामु सिटीको आक्रमण प्रभावहीन बन्यो। ब्राइटनले पनि गोलका केही राम्रा अवसर गुमाएको थियो।
जितसँगै ब्राइटनले सिटीसँगको दूरी दुई अंकमा झारेको छ। सिटीका लागि भने यो हार लिगमा निरन्तरता कायम राख्न नसकेको अर्को धक्का बनेको छ।
यता, अर्को खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई २–० गोलले पराजित गरेको छ। लगातार खराब नतिजाबाट गुज्रिरहेको युनाइटेडको संकट थप गहिरिएको छ।
पहिलो हाफमा युनाइटेडले केही राम्रा अवसर सिर्जना गरेको थियो। म्याथ्युज कुन्हाको गोललाई अफसाइडका कारण भीएआरले रद्द गरेको थियो। ब्रुनो फर्नान्डेज र अमाद डियालोले पनि गोलका अवसर पाए। तर, दोस्रो हाफमा भने युनाइटेड पूर्ण रूपमा कमजोर देखियो।
खेलको ५०औं मिनेटमा मोर्गन रोजर्सले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। युनाइटेडको रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै उनले सहजै गोल गरेका थिए।
त्यसको १४ मिनेटपछि चेल्सीले पेनाल्टी पायो। वेस्ली फोफानाको अनुहारमा लिसान्द्रो मार्टिनेजले हातले प्रहार गरेपछि भीएआरको सहायतामा चेल्सीले पेनाल्टी पाएको थियो। उक्त घटनामा दोस्रो पहेँलो कार्ड पाएपछि मार्टिनेज मैदानबाट बाहिरिए।
पेनाल्टीमा कोल पाल्मरले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए। त्यसपछि १० खेलाडीमा सीमित युनाइटेड खेलमा फर्कन सकेन। चेल्सीका एस्टेभाओले तेस्रो गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता पाएन।
इन्जुरी समयमा ब्रायन एम्बेउमोको प्रहार क्रसबारमा लागेपछि युनाइटेडले गोल गर्ने अर्को अवसर पनि गुमायो।
यो हारसँगै युनाइटेड सबै प्रतियोगितामा लगातार नौ खेलमा जितविहीन बनेको छ। सन् १९८८ पछि क्लबको यो सबैभन्दा खराब लय हो। प्रिमियर लिगमा चौथो हार बेहोरेको युनाइटेड १६औं स्थानमा झरेको छ। रेलिगेसन क्षेत्रभन्दा एक अंक मात्रै माथि रहेको युनाइटेडका प्रशिक्षक माइकल क्यारिकमाथि दबाब थपिएको छ।
चेल्सी भने जितसँगै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ।