फिफाले विश्वकप र क्लब विश्वकप जस्ता आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न एउटा नयाँ कम्पनी स्थापना गरी त्यसको केही हिस्सा (सेयर) बेच्ने योजना बनाएको छ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वभरका २११ सदस्य राष्ट्रहरूलाई दिइने 'विकास बजेट' तीन गुणाले बढाउन यो कदम चाल्न लागेका हुन्।
फिफाले 'फिफा फर्वार्ड इन्टरप्राइजेज' (एफएफइ) नामको नयाँ कम्पनी बनाउनेछ। यसले फुटबलका सबै व्यापारिक कामहरू (विज्ञापन, स्पोन्सरसिप आदि) हेर्नेछ। फिफाले यो कम्पनीको २१ प्रतिशत हिस्सा निजी लगानीकर्ताहरूलाई ४.२ अर्ब डलरमा बेच्ने लक्ष्य राखेको छ। बाँकी बहुमत हिस्सा भने फिफाकै नियन्त्रणमा रहनेछ।
यो बिक्रीबाट आएको पैसा सिधै फिफाका सदस्य राष्ट्रहरूलाई बाँडिनेछ। हरेक सदस्य देशले विशेष आयोजनाका लागि तत्कालै थप २ करोड डलरसम्म पाउन सक्नेछन्।
आगामी वर्षहरूमा सदस्य राष्ट्रहरूले पाउने नियमित अनुदान पनि ८ मिलियन डलरबाट बढेर २४ मिलियन डलरसम्म पुग्नेछ।
यो योजनामा विश्वकै ठूलो बैंक 'जेपी मोर्गन' ले फिफालाई सल्लाह दिइरहेको छ। लगानीकर्ताको रूपमा अमेरिकी व्यवसायी जोशुवा कुश्नर (डोनाल्ड ट्रम्पका ज्वाइँका भाइ) को नेतृत्वमा एउटा समूह आउने सम्भावना छ।
यो योजनाको चौतर्फी विरोध पनि भइरहेको छ। युरोपेली फुटबलको सर्वोच्च निकायले युइएफएले भनेको छ, ‘फुटबलको आत्मा र यसको व्यवस्थापन बेच्ने चिज होइन। फिफा यसको मालिक होइन, संरक्षक मात्र हो।’
एसियाली फुटबल महासंघ (एएफसी) ले फिफाको यो प्रस्तावमा असहमति जनाएको छ। एएफसीले बुधबार आफूहरूसँग कुनै छलफल नगरी प्रस्ताव आएको र त्यसको व्यापक छलफल हुनु पर्ने पनि बताएको छ।
उत्तर अमेरिकी फुटबल महासंघले आफूहरूसँग सल्लाह नै नगरी फिफाले यस्तो योजना अघि सारेकोमा आपत्ति जनाएको छ।
आलोचकहरूका अनुसार यो योजना इन्फान्टिनोले आगामी चुनाव जित्नका लागि पैसा बाँड्ने जुक्ति मात्र हो। साथै नयाँ बन्ने कम्पनीको प्रमुख पनि इन्फान्टिनो नै हुने र उनको तलब अहिलेको भन्दा १० गुणासम्म बढ्न सक्ने चर्चाले पनि विवाद निम्त्याएको छ।