फिफा विश्वकप २०२६ फाइनलमा स्पेनसँग पराजित भएपछि र प्रतियोगिताभर देखाएको व्यवहारलाई लिएर फिफाले अर्जेन्टिना विरुद्ध अनुशासनको कारबाही प्रक्रिया सुरु गरेको छ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले न्युयोर्क न्यु जर्सी रङ्गशालामा भएको फाइनल खेलको अन्तिम सिट्ठी बजेपछि के भएको थियो भन्ने कुराको मूल्याङ्कन गर्न एक अनुसन्धान अधिकृत नियुक्त गरेको थियो।
खेलमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका धेरै खेलाडी र अफिसियल स्पेनका खेलाडीहरूसँग झगडामा उत्रिएका थिए।
अनुसन्धान अधिकृतको सिफारिसमा फिफाले अर्जेन्टिनाका खेलाडीहरू नहुएल मोलिना (दुईवटा आरोप), लिआन्द्रो पारेडेस (तीनवटा आरोप) र सहायक प्रशिक्षक रोबर्टो आयला (एक आरोप) माथि 'कुटपिट वा हातपात'को अभियोगमा छानबिन गर्ने भएको छ। यो फिफाको अनुशासन संहिताको धारा १४ अन्तर्गत पर्दछ।
यस्तै, मोलिनामाथि खेल भावना विपरीतको व्यवहार गरेको अर्को एक आरोप पनि छ। टोलीका अर्का सदस्य थियागो अल्माडा र स्पेनका मिडफिल्डर गाभीमाथि पनि सोही नियम उल्लंघन गरेको आरोप लगाइएको छ।
फिफाको नियम अनुसार, 'अशिष्ट व्यवहार' गर्ने खेलाडी वा पदाधिकारीलाई कम्तीमा एक खेल र 'कुटपिट वा हातपात' मा संलग्न हुनेलाई कम्तीमा तीन खेलको प्रतिबन्ध लाग्न सक्छ।