फिफा अध्यक्ष जियानी इन्फान्टिनोको विश्वकप र अन्य प्रतियोगिताको हिस्सा निजी लगानीकर्तालाई बेच्ने योजनामा ठूलो धक्का लागेको छ।
एसियाली फुटबल महासंघ (एएफसी) ले पनि यो योजनाको विरोध गरेपछि इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले पदबाट राजीनामा दिएका छन्।
चार वर्षभन्दा बढी समयदेखि इन्फान्टिनोको सल्लाहकार रहेका कार्लोस कोर्डेरोले यो योजनालाई ‘फुटबलका लागि घाटाको सम्झौता’ भन्दै राजीनामा दिएका हुन्। उनले भनेका छन्, ‘फिफाको जिम्मेवारी जस्तोसुकै मूल्यमा नाफा कमाउनु मात्र होइन, फुटबलको भविष्य जोगाउनु पनि हो। यो योजनाले फुटबलको भविष्यलाई नै जोखिममा पार्छ।‘
यसअघि युरोप (युइएफए) र उत्तर-मध्य अमेरिकाको महासंघले यो योजनाको विरोध गरिसकेका थिए। अब एसियाली फुटबल महासंघ पनि उनीहरूसँगै उभिएको छ। एएफसीले फिफाले कसैलाई नसोधी एकलौटी ढंगले यति ठूलो निर्णय गर्न खोजेकोमा कडा आपत्ति जनाएको छ।
इन्फान्टिनोलाई यो प्रस्ताव पास गर्न कुल २११ सदस्यमध्ये १०६ भोट चाहिन्छ। तर: युरोपको ५५ भोट, उत्तर र मध्य अमेरिकाको ३५ भोट र एसियाको६ भोटमध्ये अधिकांस विरूद्धमा जाने देखिएकव छ।
यी तीनै क्षेत्र मिलेर अहिले १३६ भोट विपक्षमा पुगेको छ। यदि यी देशहरू आफ्नो महासंघको निर्णयमा अडिग रहे भने इन्फान्टिनोको योजना पूर्ण रूपमा असफल हुनेछ।
फिफाले 'फिफा फरवार्ड इन्टरप्राइज' नामक कम्पनी बनाएर विश्वकपको व्यापारिक पाटो निजी लगानीकर्तालाई सुम्पिन खोजेको छ। यसमा अमेरिकी कम्पनी 'थ्राइभ इटरनल' (डोनाल्ड ट्रम्पका आफन्तको कम्पनी) ले लगानी गर्ने चर्चा छ। प्रतिवेदन अनुसार फिफाले फुटबलबाट अझै बढी पैसा कमाउन सकिने भन्दै यो बाटो रोज्न खोजेको हो।
सबै देश यो योजनाको विपक्षमा भने छैनन्। अफ्रिकी राष्ट्र युगान्डाका फुटबल प्रतिनिधिले भनेका छन् कि उनीहरू जस्ता गरिब देशका लागि फिफाबाट आउने पैसाले नै फुटबल मैदान र स्कुलहरू चल्ने गर्छन्। त्यसैले जहाँबाट धेरै पैसा आउँछ, त्यो उनीहरूका लागि राम्रो हुन सक्छ।
युइएफएले विश्वकप नै बहिष्कार गर्ने धम्की दिएको छ भने वरिष्ठ सल्लाहकारले नै साथ छाडेका छन्। इन्फान्टिनोले हा’मी फुटबल बेचिरहेका छैनौँ’ भने पनि विपक्षीहरूले यसलाई ‘मित्रहरूलाई धनी बनाउने खेल’ मात्र भनेका छन्। अबको केही हप्ता फिफाको भविष्यका लागि निकै निर्णायक हुने देखिन्छ।