इंग्लिस क्लब लिभरपुलले आफ्ना स्टार खेलाडी मोहम्मद सालाहको बिदाइपछि टोलीको अग्रपंक्ति मजबुत बनाउन फ्रान्सेली विंगर ब्राडली बार्कोलालाई भित्र्याउने तयारी गरेको छ।
लिभरपुल उनका लागि १०० मिलियन पाउण्ड तिर्न तयार छ, तर उनको हालको क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले भने १४५ मिलियन पाउण्ड मागिरहेको छ।
यसअघि लिभरपुलले मिडफिल्डर फ्लोरियन विर्ट्ज र स्ट्राइकर अलेक्जेन्डर इसाकका लागि १०० मिलियन पाउण्डभन्दा बढी खर्च गरिसकेको छ। यदि बार्कोलासँग सम्झौता भएमा उनी क्लबको तेस्रो महँगो खेलाडी बन्नेछन्।
२३ वर्षीय बार्कोला पिएसजीका निकै तीव्र गतिका र सिपालु विंगर हुन्। पिएसजीले लगातार पछिल्ला दुई सिजन च्याम्पियन्स लिग जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए। उनले पिएसजीबाट तीन पटक फ्रेन्च लिग)र दुई पटक फ्रेन्च कप जितिसकेका छन्।
उनले फ्रान्सका लागि २८ खेल खेलिसकेका छन् र भर्खरै सम्पन्न विश्वकपमा तीन गोल समेत गरेका थिए।
९ वर्षमा २५७ गोल गरेका मोहम्मद सालाहले क्लब छाडेपछि लिभरपुललाई गोल गर्न सक्ने नयाँ विंगर चाहिएको छ। तथ्यांकअनुसार बार्कोलाको खेल्ने शैली पूर्व खेलाडी लुइस डियाजसँग मिल्दोजुल्दो छ। उनी सिधै डिफेन्डरहरूलाई छलाएर गोल गर्ने अवसर सिर्जना गर्न खप्पिस छन्। उनी मुख्यतया दायाँ खुट्टाले खेल्छन् र देब्रे तर्फको विंगर भएर खेल्न रुचाउँछन्। तर, उनी मैदानको बीचबाट वा दाहिने तर्फबाट पनि खेल्न सक्छन्।
उनी युरोपका ५ ठूला लिगहरूमध्ये 'पेनाल्टी एरिया' मा सबैभन्दा धेरै बल छुने र विपक्षीको पोष्टमा प्रहार गर्ने खेलाडीहरूको सूचीमा अगाडि छन्।
गत सिजन उनले ११ गोल गरेका थिए। उनको अर्को सबल पक्ष भनेको 'प्रेसिङ' हो। विपक्षीबाट बल खोस्ने क्षमतामा पनि उनी उत्कृष्ट छन्, जुन लिभरपुलका प्रशिक्षक एण्डोनी इराओलाको रणनीतिका लागि उपयुक्त छ।