विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फुटबल प्रतियोगिताको व्यापारिक हिस्सा निजी लगानीकर्तालाई बेच्ने आफ्नो विवादास्पद योजनामा ‘गल्ती’ भएको स्वीकार्दै माफी मागेका छन्।
तर, मोरक्कोमा भएको फिफाका वरिष्ठ अधिकारीहरूको बैठकपछि उनले आफ्नो पद नछाड्ने प्रस्ट पारेका छन्।
इन्फान्टिनोले 'फिफा फर्वार्ड इन्टरप्राइज' नामको एउटा नयाँ कम्पनीमार्फत विश्वकप जस्ता ठूला प्रतियोगिताको व्यावसायिक अधिकार (टिकट र विज्ञापन) निजी लगानीकर्तालाई सुम्पने गोप्य योजना बनाएका थिए। यसका लागि उनले प्रत्येक सदस्य राष्ट्रलाई ४ करोड डलर (करिब साढे ५ अर्ब नेपाली रुपैयाँ) दिने आश्वासन दिएर समर्थन जुटाउन खोजेका थिए।
युरोपेली फुटबल महासंघले यस योजनालाई ‘अस्पष्ट र लुकिछिपी गरिएको नराम्रो सम्झौता’ भन्दै इन्फान्टिनोमाथिको विश्वास गुमेको बताएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र पोर्चुगलका पूर्व स्टार खेलाडी लुइस फिगोले पनि इन्फान्टिनोको कडा आलोचना गरेका छन्। फिगोले त उनलाई तत्काल राजीनामा दिन समेत आग्रह गरेका छन्।
इन्फान्टिनो र फिफाका महासचिव म्याटियास ग्राफस्ट्रोमले सदस्य राष्ट्रहरूलाई पत्र लेख्दै ‘प्रक्रियामा गल्ती भएको र अब यस्तो नदोहोरिने’ बाचा गरेका छन्।
युरोपले विरोध गरे पनि अफ्रिका र एसियाका धेरै देशहरूले इन्फान्टिनोलाई नै समर्थन गरिरहेका छन्। उनीहरूले फिफाबाट पाइने विकास बजेटका कारण इन्फान्टिनोलाई साथ दिएका हुन्।
इन्फान्टिनो सन् २०२७ मा चौथो कार्यकालका लागि पुन: चुनाव लड्ने तयारीमा छन्। उनलाई हटाउन युरोपलाई अन्य महादेशहरूको पनि साथ चाहिन्छ, जुन अहिले देखिँदैन।
इन्फान्टिनोले सन् २०३० को विश्वकप फाइनल मोरक्कोलाई दिने सर्तमा समर्थन मागेको भन्ने खबरलाई फिफाले ‘झूटो र भ्रामक’ भनेको छ। फाइनल कहाँ हुने भन्ने निर्णय पछि मात्र गरिने फिफाले जनाएको छ।