ब्राजिलका स्टार विंगर भिनिसियस जुनियरले रियल म्याड्रिडसँग थप ६ वर्षका लागि नयाँ सम्झौता गरेका छन्। यो सम्झौतासँगै उनी अब सन् २०३२ सम्म सान्टियागो बर्नाबेउमै रहने निश्चित भएको छ।
२६ वर्षीय भिनिसियसको पुरानो सम्झौता सकिन अब १२ महिना मात्र बाँकी थियो। यसैबीच इंग्लिस क्लब आर्सनलले उनलाई भित्र्याउन निकै चासो देखाएको थियो। तर, रियल म्याड्रिडले बिहीबार आधिकारिक घोषणा गर्दै उनी क्लबमै रहने पुष्टि गरेको हो।
सम्झौतापछि भिनिसियसले सामाजिक सञ्जाल इन्स्टाग्राममा खुसी व्यक्त गर्दै लेखेका छन्, ‘बर्नाबेउमा बिताएका ८ वर्ष निकै छोटा लागे... अब थप ६ वर्ष, र त्यसपछि सधैंका लागि।’
सन् २०१८ मा ब्राजिलियन क्लब फ्लेमेङ्गोबाट रियल म्याड्रिड आएका भिनिसियसले अहिलेसम्म क्लबका लागि ३७५ खेल खेल्दै १२८ गोल गरिसकेका छन्। उनले क्लबलाई दुई पटक च्याम्पियन्स लिग, तीन पटक ला लिगा र एक पटक कोपा डेल रेको उपाधि जिताउन मुख्य भूमिका खेलेका छन्। उनले ब्राजिलका लागि ५४ खेल खेल्दै १३ गोल गरेका छन्।
भिनिसियससँगको सम्झौता नवीकरण भएकै दिन रियल म्याड्रिडले अर्को ठूलो घोषणा पनि गरेको छ। क्लबले आरबी लाइपजिगबाट आइभोरी कोस्टका विङ्गर यान डिओमान्डेलाई करिब १२० मिलियन पाउण्ड (करिब २० अर्ब नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको छ।
नयाँ प्रशिक्षक जोजे मोरिन्होको नेतृत्वमा रियल म्याड्रिडले यस सिजन निकै आक्रामक रूपमा खेलाडीहरू भित्र्याइरहेको छ। यसअघि नै क्लबले बर्नाडो सिल्भा, इब्राहिमा कोनाटे, डेन्जेल डमफ्रीज, मार्क कुकुरेला र कार्लोस एस्पी जस्ता खेलाडीहरूलाई अनुबन्ध गरिसकेको छ। अहिले क्लबले म्यान्चेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई पनि भित्र्याउने लक्ष्य राखेको छ, जसमा बार्सिलोनासँग प्रतिस्पर्धा हुने देखिएको छ।
प्रिमियर लिग विजेता आर्सनलले बायाँ तर्फबाट खेल्ने फरवार्डको खोजीमा भिनिसियसलाई प्राथमिकतामा राखेको थियो। तर, उनले रियलसँगै नयाँ सम्झौता गरेपछि आर्सनलले अब अरु खेलाडीको विकल्प खोज्नुपर्ने भएको छ।