‘मलाई लागेको पैसा पाइनँ भने म क्लब छाडिहाल्थें,’ ३६ वर्षीय विंगर जेफ थोमस भन्छन्। १८ वर्षको फुटबल करियरमा ३९ पटक क्लब परिवर्तन गरेका उनी फुटबल जगतका एक वास्तविक 'फिरन्ते' हुन्।
इङ्ल्यान्डको ब्राडफोर्डमा जन्मिएका थोमसले आफ्नो करियरमा अमेरिका, बेल्जियम, क्यानडा, स्कटल्याण्ड र इङ्ल्यान्डका दर्जनौँ क्लबहरू चहारेका छन्। उनको क्लबहरूको सूची निकै लामो छ— रोसिङ्गटन मेन (५ पटक), मिकलेओभर स्पोर्ट्स (४ पटक), फ्रिकली एथलेटिक (३ पटक) देखि क्यानडाको थन्डर बे चिलसम्म।
लामो समय 'घुमन्ते' जीवन बिताएपछि थोमस अहिले सन् २०२४ देखि दक्षिण योर्कशायरको क्लब 'डियर्न एण्ड डिस्ट्रिक्ट' मा खेलाडी-प्रशिक्षकको रूपमा कार्यरत छन्। उनको नेतृत्वमा यो सानो गाउँको क्लबले यसै शनिबार आफ्नो इतिहासमा पहिलो पटक प्रतिष्ठित 'एफए कप' खेल्दैछ। सन् २०२१ सम्म स्थानीय लिगमा खेलिरहेको टोलीका लागि यो ठूलो फड्को हो।
थोमसको करियर 'रोदरह्याम युनाइटेड' बाट सुरु भएको थियो। त्यतिबेला उनी युवा टोलीमा थिए। तर, सन् २००८ मा उनलाई क्लबले विदा दियो। थोमस स्वीकार्छन् कि त्यतिबेला उनी अलि जिद्दी र अपरिपक्व थिए। उनी भन्छन्, ‘रिजर्भ खेलमा गोल गरेपछि अर्को दिन रिकभरीका लागि दौडिनुपर्दा मलाई मन पर्दैनथ्यो। यदि मेरो व्यवहार राम्रो हुन्थ्यो भने म अझ ठूलो स्तरमा पुग्न सक्थें।’
करियरका दौरान उनले कयौँ उतारचढाव भोगे। सन् २०१३ मा चोटका कारण फुटबल छाड्ने अवस्थामा पुगेका उनी एक कल सेन्टरमा काम गर्थे र सेनामा भर्ती हुने सोचमा थिए। तर, क्यानडाको एक क्लबबाट आएको अफरले उनको फुटबल जीवनलाई नयाँ जीवन दियो।
उनले इङ्ल्यान्डका सुपरस्टार जेमी भार्डीसँग पनि खेलिसकेका छन्। आफ्ना धेरै क्लबहरू परिवर्तन गर्ने निर्णयबारे उनी भन्छन्, ‘म अलि बढी पैसाका लागि वा माथिल्लो स्तरमा खेल्नका लागि क्लब फेरिरहन्थें। विभिन्न देशमा खेल्नु मेरो लागि राम्रो अनुभव रह्यो।’
अहिले थोमस आफ्नो घरबाट ५ मिनेटको दूरीमा रहेको क्लबमा प्रशिक्षकको भूमिका निभाउँछन्। यसका साथै उनी 'डर्बी काउन्टी' को १२ वर्ष मुनिको टोलीका मुख्य प्रशिक्षक पनि हुन्।
रमाइलो कुरा त के छ भने, पहिले पैसाका लागि बारम्बार क्लब फेर्ने थोमस अहिले आफ्ना खेलाडीहरूलाई सम्झाउँछन्, ‘अहिले पैसाको पछि नदौड, आफ्नो काममा ध्यान देऊ, पैसा पछि आफैँ आउनेछ।’ १८ वर्षको घुमन्ते फुटबल जीवनपछि थोमसले अब प्रशिक्षण र नयाँ खेलाडी उत्पादनमा आफ्नो भविष्य खोजिरहेका छन्।