अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीका पिता जर्ज मेसीको निधन भएको छ।
शुक्रबार राति अर्जेन्टिनाको रोसारियोस्थित एक अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतलाई उद्धृत गरेर समाचार संस्था रोयटर्सले लेखेको छ।
६८ वर्षीय जर्ज लामो समयदेखि बिरामी थिए।
परिवारका अनुसार जर्जले पछिल्ला केही महिना रोसारियोस्थित मेडिकल सेन्टर र आफ्नो घरमा गर्दै उपचार तथा विश्राम बिताएका थिए।
उनकी पत्नी सेलिया तथा छोराछोरी रोड्रिगो, माटियास र मारिया सोल उनको साथमा थिए।अमेरिकामा भएको फिफा विश्वकपपछि लियोनल मेसीले पनि आफ्ना पितासँग समय बिताएका थिए।
त्यसपछि उनी आफ्नो क्लब इन्टर मायामीमा फर्किएका थिए। इन्टर मायामी लागि उनी एक साताअघि मात्रै मैदानमा फर्किएका थिए।
परिवारनिकट एक स्रोतका अनुसार मेसी अर्जेन्टिना पुग्दै छन्।
जर्ज मेसीले लियोनलको फुटबल करिअरको सुरुदेखि नै उनको साथ दिएका थिए।
बार्सिलोनामा मेसीको सुरुआती दिनदेखि नै जर्ज उनको करिअरका महत्वपूर्ण सहयोगी थिए। उनले लामो समय मेसीका प्रतिनिधिका रूपमा समेत काम गरेका थिए।
लियोनलले यसअघि आफ्नो पितासँगको सम्बन्धबारे बोल्दै आफूलाई बाल्यकालदेखि नै पिताको स्वीकृति आवश्यक पर्ने गरेको बताएका थिए। 'म सानैदेखि सधैं बुवाको स्वीकृति चाहन्थेँ। हरेक खेलपछि म उहाँलाई मेरो खेल कस्तो लाग्यो भनेर सोध्थेँ,' ३९ वर्षीय मेसीले भनेका थिए।
विश्वकपका क्रममा पनि मेसीले पिताको स्वास्थ्य अवस्थाका कारण भावनात्मक कठिनाइ भोगेको संकेत गरेका थिए। अल्जेरियाविरुद्धको उद्घाटन खेलमा ह्याट्रिक गरेपछि पहिलो गोलको खुसी मनाउने क्रममा उनी भावुक हुँदै रोएका थिए।
त्यसपछि पत्रकार सम्मेलनमा उनले आफू रोएको कारण फुटबलसँग सम्बन्धित नभएको बताएका थिए। फुटबलसँग सम्बन्धित नभएको केही कुरा र केही कठिन तथा जटिल दिन बिताइरहेको उनले बताएका थिए।
केही दिनपछि मेसी परिवारले जर्जको स्वास्थ्य अवस्थाबारे सार्वजनिक जानकारी दिँदै उनी उपचार गराइरहेको जनाएको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार जर्जको पार्थिव शरीर आइतबार रोसारियोनजिकैको पेरेज सहरस्थित एल प्राडो निजी चिहानमा लगिनेछ।
जर्जको निधनपछि मेसीका पूर्वक्लब बार्सिलोना, उनको बाल्यकालको क्लब नेवेल्स ओल्ड ब्वाइज, रियल म्याड्रिड तथा अर्जेन्टिना फुटबल संघ (एएफए) लगायतले शोक व्यक्त गरेका छन्।
एएफएले अर्जेन्टिनाका सबै डिभिजनका खेलमा एक मिनेट मौनधारण गरिने र खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूले कालो पट्टी बाँध्ने जनाएको छ।
'यस कठिन समयमा हामी सम्पूर्ण परिवारप्रति ऐक्यबद्धता जनाउँछौँ र हार्दिक, न्यानो तथा आत्मीय अँगालो पठाउँछौँ। तपाईंहरू सबैलाई शक्ति मिलोस्,' एएफएले विज्ञप्तिमा भनेको छ।
मेसीले आफ्नो सिनियर करिअरको अधिकांश समय बिताएको बार्सिलोनाले पनि जर्जप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
मेसीले सन् २००४ मा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए र सन् २०२१ सम्म क्लबमा रहे।
'हाम्रा क्लबप्रतिको जर्ज मेसीको समर्पणका लागि तथा उनका छोरा लियोको फुटबल करिअरको सुरुआत र सबैभन्दा गौरवशाली वर्षहरू हामीलाई सुम्पिएकोमा एफसी बार्सिलोना जर्ज मेसीप्रति आभार व्यक्त गर्दछ,' बार्सिलोनाले भनेको छ।