इंग्लिस क्लब बर्नमाउथ र स्पेनिस क्लब रियल बेटिसबीच भएको प्रि-सिजन मैत्रीपूर्ण फुटबल खेलमा खेलाडीहरूबीच हात हालाहाल भएपछि बर्नमाउथका एलेक्स स्कट र रियल बेटिसका विङ्गर एन्टोनीलाई रातो कार्ड दिइएको छ।
स्पेनको सेभियास्थित 'बेनिटो भिलामारिन' रंगशालामा भएको खेलको पहिलो हाफको अन्तिम समयमा दुवै टोलीका खेलाडीहरूबीच घम्साघम्सी भएको थियो।
विवाद तब सुरु भयो जब रियल बेटिसका नेल्सन डेओसाले बर्नमाउथका डिफेन्डर बाफोडे डियाकिटेलाई फल गरेपछि नजिकैबाट बलले हिर्काए। यो घटनापछि रेफ्रीले डेओसालाई पहेँलो कार्ड दिए, तर बर्नमाउथका खेलाडीहरू आक्रोशित हुँदै उनीतिर झम्टिए।
धेरैजसो खेलाडीहरू सामान्य रूपमा घटनातिर गइरहेका बेला म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी एन्टोनी भने दौडिँदै आएर बर्नमाउथका दुई खेलाडीलाई धकेल्न थाले। त्यसपछि बर्नमाउथका मिडफिल्डर एलेक्स स्कटले एन्टोनीलाई पछाडि धकेल्दै औंला उठाएर चेतावनी दिए। बदलामा एन्टोनीले पनि हात उठाउँदै स्कटलाई धकेले।
रेफ्रीले अन्ततः झगडा गर्ने दुवै खेलाडी (एन्टोनी र स्कट) लाई पहिलो हाफ सकिनै लाग्दा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए। गत समरमा म्यानचेस्टर युनाइटेड छोडेर रियल बेटिस पुगेका एन्टोनीले बढी आक्रामक व्यवहार देखाएको देखिए पनि सजाय दुवैले भोगे।
खेलमा बर्नमाउथले ४१ औं मिनेटमा मार्कस टाभेर्नियरको गोलमार्फत १-० को अग्रता लिएको थियो। दोस्रो हाफमा रियल बेटिसका इस्कोले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको केही बेरमै इभानिल्सनले गोल गर्दै बर्नमाउथलाई फेरि २-१ को अग्रता दिलाए। तर, खेलको अन्त्यतिर पाब्लो फोर्नाल्सले गोल गरेपछि खेल २-२ गोलको बराबरीमा टुङ्गियो।
बर्नमाउथले अब शनिबार जर्मन क्लब 'मेन्ज' सँग आफ्नो अन्तिम मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि अगस्ट २३ मा म्यानचेस्टर सिटीविरुद्ध खेल्दै बर्नमाउथले प्रिमियर लिगको नयाँ सिजनको सुरुवात गर्नेछ।