हानी मुख्तारको दुई गोलको मद्दतले नासभिल एससीले लियोनल मेसीको टोली इन्टर मायामीलाई ४–१ गोलले पराजित गरेको छ।
अमेरिकाको समयअनुसार शनिबार राति भएको यस खेलमा 'इस्टर्न कन्फ्रेन्स'का शीर्ष दुई टोलीहरूबीच प्रतिस्पर्धा भएको थियो, जहाँ जित निकाल्दै नासभिल 'एमएलएस' तालिकाको शीर्ष स्थानमा कायम रहन सफल भयो।
गत अगस्ट ८ मा ६८ वर्षको उमेरमा आफ्ना बुबा जर्जको निधन भएपछि मेसीले पहिलो पटक सुरुवाती ११ मा परेर यो खेल खेलेका थिए। यसअघि अगस्ट १२ मा क्लब लियोन विरुद्धको खेलमा उनी दोस्रो हाफमा मैदान छिरेका थिए, तर सुरुदेखि खेलेका थिएनन्।
खेलको २३औँ मिनेटमा इन्टर मायामीका कप्तान मेसीले गोल गर्ने ठूलो मौका पाएका थिए, तर उनको पेनाल्टी प्रहारलाई नासभिलका गोलकिपर ब्रायन श्वाकले बचाए। गोलकिपरबाट फर्किएको बललाई सर्जियो रेगुइलनले जाली चुमाए पनि त्यसले गोलको मान्यता पाएन। रेगुइलन पेनाल्टी प्रहार हुनुभन्दा अगाडि नै 'पेनाल्टी एरिया' भित्र छिरेका कारण रेफ्रीले उक्त गोललाई रद्द गरिदिएका थिए।
त्यसअघि खेलको १६औँ मिनेटमा नासभिलका एन्डी नाजरले हेडिङमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
दोस्रो हाफको सुरुमै अर्थात् ४८औँ मिनेटमा टेलास्को सेगोभियाले उत्कृष्ट 'स्पिन-मुभ' गोल गर्दै इन्टर मायामीलाई १–१ को बराबरीमा ल्याए। तर, मायामीको यो खुसी धेरै बेर टिकेन। ४८औँ मिनेटमै नासभिलका मुख्तारले गोल गर्दै टोलीलाई पुन: अगाडि बढाए। त्यसको आठ मिनेटपछि साम सुरिजले आफ्नो 'ब्याक हिल' मार्फत सिजनको १२औँ गोल गर्दै नासभिललाई ३–१ को स्थितिमा पुर्याए।
खेलको ६२औँ मिनेटमा मायामीका गोलकिपर रोक्को रियोस-नोभोले गोलकिपर श्वाकको प्रहारलाई ठम्याउन नसक्दा मैदानमा लड्न पुगे। त्यसैको फाइदा उठाउँदै मुख्तारले खाली बलमाथि नियन्त्रण जमाएर गोल गरे र नासभिलको अग्रता ४–१ बनाए।
मेसी इन्टर मायामीमा आबद्ध भएयता नासभिलले मायामीमाथि हात पारेको यो केवल दोस्रो जित हो।