प्रिमियर लिग च्याम्पियन आर्सनलले आफ्ना प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीमाथि सानदार जित निकाल्दै २०२६ को 'कम्युनिटी सिल्ड' को उपाधि जितेको छ।
आइतबार भएको खेल सुरु भएको २३ सेकेन्डमै आर्सनलले अग्रता लियो। माइल्स लुइस-स्केलीको पासमा रिकार्डो कालाफियोरीले सिटीका गोलकिपर जियानलुइजी डोनारुम्मालाई छक्याउँदै गोल गरे।
२८ औँ मिनेटमा काई हाभर्ट्जले हेडमार्फत दोस्रो गोल गरे। नयाँ खेलाडी क्रिस्टोस जोलिसले मार्टिन ओडेगार्डको क्रसलाई हेडमार्फत पास दिएपछि हाभर्ट्जले त्यसलाई सदुपयोग गरेका थिए।
दोस्रो हाफ सुरु भएको तीन मिनेटमै ओडेगार्डले गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे। जोलिसको पासमा ओडेगार्डले उत्कृष्ट 'फेक सट' मार्फत गोलकिपर डोनारुम्मालाई भुईँमा ढालेर बललाई पोस्टको जाली चुमाएका थिए।
आर्सनलको यो १८ औँ कम्युनिटी सिल्ड उपाधि हो।
यो सिजन आर्सनल भित्रिएका ग्रीक फरवार्ड क्रिस्टोस जोलिस खेलका नायक बने। उनले दुईवटा गोलमा असिस्ट गरे। त्यस्तै, नयाँ खेलाडी ब्रुनो गुइमारेसले पनि मिडफिल्डमा राम्रो साथ दिए। युवा खेलाडी लुइस-स्केलीको प्रदर्शन पनि तारिफयोग्य रह्यो
अब प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेल शुक्रबार आर्सनलले कोभेन्ट्री सिटीसँग खेल्नेछ। यस्तै म्यानचेस्टर सिटीले आइतबार बर्नमाउथसँग प्रतिस्पर्धा गर्नेछ।