पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनपछि यो सिजन खेलाडीको रूपमा आफ्नो अन्तिम हुन सक्ने बताएका छन्।
४१ वर्षीय रोनाल्डोले गत मंगलबार आफ्नी पार्टनर जोर्जिना रोड्रिगेजसँग विवाह गरेका छन् र अब उनी आफ्नो भविष्य परिवारमा केन्द्रित गर्ने सोचमा छन्।
पाँच पटकका बालोन डी'ओर र पाँच पटकका च्याम्पियन्स लिग विजेता रोनाल्डोले इंग्ल्याण्ड, स्पेन, इटाली र साउदी अरबमा लिग उपाधिहरू जितेका छन्। उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्।
हाल साउदी प्रो लिग टोली 'अल-नासर' मा रहेका रोनाल्डोको सम्झौता अब एक वर्ष मात्र बाँकी छ। भेग म्यागजिनलाई आफ्नो विवाहको बारेमा दिएको अन्तर्वार्तामा उनले भनेका छन्,
'यो सम्भवतः फुटबलमा मेरो अन्तिम वर्ष हो, र म एउटा शानदार विरासत छोडेर जान चाहन्छु। मैले मेरो भविष्यको योजना बनाइसकेको छु। मसँग व्यस्त रहनका लागि यति धेरै कुराहरू छन् कि कुनै एक मात्र भन्न गाह्रो छ। फुटबल छोडेपछि जीवनमा ठूलो रिक्तता महसुस हुन सक्छ, त्यसैले त्यो समय भर्न विभिन्न उपायहरू सोच्नुपर्छ। म अझ धेरै रमाइलो गर्न, यात्रा गर्न, मलाई मनपर्ने 'पाडेल' खेल खेल्न र हामीले २५ वर्षको कडा परिश्रम र त्यागबाट जे आर्जन गर्यौं, त्यसको आनन्द लिन चाहन्छु।'
रोनाल्डो आफ्नो खेल जीवनको कुल १,००० गोल पूरा गर्नबाट अब मात्र २४ गोल टाढा छन्।
उनका पुराना प्रतिद्वन्द्वी लियोनेल मेस्सीले पनि हालै आफू कहिलेसम्म खेल्ने भन्नेमा अनिश्चित रहेको बताएका थिए। पछिल्लो विश्वकपमा मेस्सीको प्रदर्शन उत्कृष्ट रह्यो, जहाँ उनले ८ गोल गर्दै अर्जेन्टिनालाई फाइनलसम्म पुर्याए। अर्कोतर्फ, रोनाल्डोको टोली पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको थियो।
गत जुलाईमा आफ्नो छैटौँ विश्वकप अन्तिम हुने हो कि होइन भनेर सोधिएको प्रश्नमा रोनाल्डोले परिवारसँग सल्लाह गरेर "शान्त दिमागले" निर्णय लिने बताएका थिए।
शनिबार अल-नासरले अल फत्तेहविरुद्धको खेलसँगै नयाँ सिजनको सुरुवात गर्दा रोनाल्डो मैदानमा भने उत्रिएनन्। उनले दर्शकदीर्घामा परिवारसँगै बसेर आफ्नो टोलीको जितको खुसी मनाए।