दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको खेल तालिका मंगलबार सार्वजनिक भएको छ।
साफले जारी गरेको तालिकाअनुसार भारत र पाकिस्तानबीच नोभेम्बर ५ मा पहिलो खेल हुनेछ।
बंगलादेशमा हुने यस साफमा आयोजक बंगलादेशसहित श्रीलंका र भुटान समूह ‘ए’ मा छन्।
समूह ‘बी’मा भारत, पाकिस्तान र माल्दिभ्स छन्।
साफले नेपालको सहभागिता भए खेल तालिका परिवर्तन हुने पनि उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाबाट अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा परेसँगै साफमा नेपालको सहभागिता अन्योलमा छ।
यसअघि सेप्टेम्बरमा १ सम्म निलम्बन फुकुवा नभए साफमा सहभागिता हुन नपाउने बताइए पनि अहिले त्यो मिति साफले सारेको छ।
सरकारी हस्तक्षेप भएको भन्दै फिफाबाट निलम्बनमा परेको एन्फाले मंगलबार राष्ट्रिय खेलकुद परिषदविरूद्ध धर्ना दिने बताएको थियो। सोमबार यो निर्णय भए पनि मंगलबार विहान एन्फाले एक्कासी धर्ना कार्यक्रम स्थगित गरेको थियो।
खेलकुद परिषदले विधान संशोधन र जिल्लादेखि नै निर्वाचन गर्न एन्फाले अटेर गरेको भन्दै यसअघि निलम्बन गरेको थियो। जसका कारण गत चैतका लागि तोकिएको एन्फा निर्वाचन स्थगित गर्न एन्फा बाध्य भएको थियो।
फिफाले रोकिएकै अवस्थामा निर्वाचन गराउने पर्ने भन्दै राष्ट्रिय खेलकुद परिषदलाई दबाब दिइहरेको छ। तर पछिल्लो समय जिल्लाहरुको पनि पदावधि सकिएकाले एन्फा तल्लो तहदेखि नै निर्वाचन गर्न सकारात्मक रहेको बताइएको छ।