साउदी प्रो लिग क्लब अल-तावुनलाई आफ्ना समर्थकहरूले विपक्षी खेलाडीमाथि गरेको अभद्र व्यवहारका कारण लिगका दुई घरेलु खेलहरू बन्द रङ्गशालामा (दर्शकरहित) खेल्न आदेश दिइएको छ।
अल-हिलालका पोर्चुगेली मिडफिल्डर रुबेन नेभेसका दिवङ्गत साथी एवम् सहकर्मी डिओगो जोटाको निधनलाई लिएर समर्थकहरूले जिस्क्याएपछि क्लबमाथि एक लाख साउदी रियाल जरिवानासमेत लगाइएको छ।
इंग्लिस क्लब लिभरपुलका फरवार्ड जोटाको गत वर्ष जुलाईमा २८ वर्षको उमेरमा कार दुर्घटनामा निधन भएको थियो। उनी नेभेसका निकै निकटतम मित्र थिए, जसले उल्भरह्याम्पटन वान्डरर्स र पोर्चुगल राष्ट्रिय टोलीबाट सँगै खेलेका थिए।
नेभेसले जोटाको सम्झनामा पोर्चुगल राष्ट्रिय टोलीबाट २१ नम्बरको जर्सी लगाउछन्, पिँडौलामा जोटासँग अङ्कमाल गरेको ट्याटु खोपाएका छन् भने जोटाको अन्त्येष्टिमा शव बोक्ने कामसमेत गरेका थिए।
तर, शनिबार अल-हिलालसँग ६-० ले पराजित हुनुअघि अल-तावुनका समर्थकहरूले नेभेसलाई लक्षित गर्दै लगातार जोटा भन्दै अपमानजनक नारा लगाएका थिए।
खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेभेसले भने, ‘यस्तो हर्कत गरिसकेपछि उनीहरू पछि प्रार्थना गर्न जाँदैनन् भन्ने आशा गर्छु।’
अल-नासरबाट खेल्ने जोटाका राष्ट्रिय टोलीका सहकर्मी क्रिस्टियानो रोनाल्डोले यस्ता नाराबाजी गर्ने समर्थकहरूमाथि आजीवन प्रतिबन्ध लगाइनुपर्ने माग गरेका छन्।
क्लबले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस्तो व्यवहार पूर्ण रूपमा अस्वीकार्य छ र यसले क्लब, हाम्रा समर्थक वा मूल्यमान्यताको प्रतिनिधित्व गर्दैन। कसैको भावनामा चोट पुर्याएर अपमान गर्ने वा धम्क्याउने कार्यका लागि खेलकुदको प्रतिस्पर्धा बहाना बन्न सक्दैन।’