नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सन्जीब पाण्डे पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले शुक्रबार एन्फाको कार्यालयमा छापा मारेर जोशी र पाण्डेलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले त्यहाँबाट ल्यापटप र सिपियू पनि अनुसन्धानका लागि संकलन गरेको थियो।
पक्राउ परेका दुई जनालाई खेलमा मिलेमतो, अनियमितता तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको जनाएको छ।
'बहराइनसँगको खेल नेपालमै हुन पर्ने तर त्यतिबेला बहराइनमा गराएको र त्यसमा आर्थिक अनियमितता भएको हुन सक्ने भनेर उजुरी आएको हुँदा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो,' सिआइबीका एसएसपी अनुपम शम्शेर जबराले भने।
पक्राउ परेका दुवैलाई म्याद थपका लागि सिआइबीले आइतबार जिल्ला अदालत उपस्थित गराएको थियो।
अदालतले ४ दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको सिआइबीले जनाएको छ।