एशियन पेन्ट्स च्याम्पियन्स कप २०२६ अन्तर्गत गर्ल्स फुटबलतर्फ भेनस नेशनल कलेज बागामी प्रदेश च्याम्पियन बनेको छ।
कीर्तिपुरस्थित लेबरोटरी स्कुलको खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा भेनस नेशनल कलेजले आदर्श विद्या मन्दिर स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
भेनस नेशनल कलेजको जितमा दिक्षा रायमाझीले खेलको ५०औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। उपाधिसँगै भेनस नेशनल कलेजले वाग्मती प्रदेशको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय प्रतियोगिताका लागि समेत छनोट भएको छ।
असोज ४ गतेदेखि सञ्चालन भएको गल्र्स प्रतियोगितामा विद्यालयस्तरका १० टोलीको सहभागिता रहेको थियो।

यसैगरी व्वाइज फुटबलतर्फ मनकामना सेकेण्डरी स्कुल वाग्मती प्रदेश च्याम्पियन बनेको छ। लेबरोटरी स्कुलको खेल मैदानमा सम्पन्न प्रदेशस्तरीय खेलमा काठमाडौँ उपत्यकाव्यापी च्याम्पियन मनकामना सेकेण्डरी स्कुलले चितवन जिल्लामा सम्पन्न प्रतियोगिताको च्याम्पियन माडी माध्यमिक विद्यालयलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
मनकामना सेकेण्डरी स्कुलको जितमा सनिल मगरले ह्याट्रिक गरे। माडी माध्यमिक विद्यालयका लागि प्रतिक रमधामले पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीलाई खेलमा फर्काउन सकेनन्।
यससँगै एशियन पेन्ट्स च्याम्पियन्स कप २०२६ को वाग्मती प्रदेशस्तरीय प्रतियोगितामा गल्र्सतर्फ भेनस नेशनल कलेज र व्वाइजतर्फ मनकामना सेकेण्डरी स्कुलले च्याम्पियनको उपाधि हात पारेका छन्।